कोशी सरकारविरुद्धको मुद्दामा आज पनि सुनुवाई हुँदै
काठमाडौं, २१ भदौ । कोशी प्रदेश सरकारविरुद्ध आज पनि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाई हुँदैछ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा गत मंगलबारदेखि सुरू भएको सुनुवाई आज पनि सर्वोच्च अदालतको पुर्ण इजालसमा सुनुवाई हुन लागेको हो ।
आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरे अनुसार सोमबारबाट पूर्ण इजलासमा सुनवाई हुने भने पनि सो दिन हेर्दाहेर्दैमा राखिएको थियो ।
जसअनुसार कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा उक्त रिटमाथि मङ्गलबारबाट सुनुवाई सुरु भएको छ । मुख्यमन्त्री थापाले बैठकको सभाध्यक्षसहितको मतसमेत जोडेर विश्वासको मत लिएपछि नेकपा एमालेले सो कार्य गैर संवैधानिक भन्दै सर्वोच्च अदालतले रिट दायर गरेको थियो ।
उक्त रिटमाथि गत शुक्रबार नै पूर्ण सुनुवाइ गर्ने गरी यसअघि नै पेसी तोकिएको थियो तर सो रिटमा गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परे पनि ‘हेर्न नमिल्ने’ भनेसँगै सुनवाइ रोकिदै आएको थियो ।
प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्री थापालाई विश्वासको मत दिएको र उक्त कार्य संविधानविपरीत रहेको दाबी गर्दै पूर्वमुख्यमन्त्री तथा नेकपा एमालेका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

