सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

राजा आए नै भने पनि भैरहवा कटेर जाने कुरा आउँदैन– पौडेल

admin
admin

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले राजा नै आए भनें पनि भैरहवा कटेर उता जान नसकिने बताएका छन् ।

बागलुङबाट निर्वाचित प्रतिनिधिसभाका सांसदसमेत रहेका पौडेलले शनिबार काठमाडौंको चक्रपथमा आयोजना गरेको पत्रकार भेटघाटमा राजा आउनुपर्छ भनेर सडकमा नारा लागिरहेको भन्दै थपे ‘राजा आउ भनेर सडकमा मान्छे निस्किरहेका छन् त्यसलाई अन्यथा मान्नुहुन्न, त्यो उनीहरुको अधिकारको कुरा हो तर त्यो सम्भव छैन ।’ नेता पौडेलले लोकतन्त्रमा सबैले आफ्नो विचार अभिव्यक्त गर्न पाउने पनि बताए । उनले यही शासन व्यवस्था नै अहिलेको लागि उपयुक्त भएको भन्दै यसलाई नै बचाएर लानुपर्नेमा जोड दिए । उनले वर्तमान शासन प्रणाली र व्यवस्थाको विषयमा केही गुनासा आएको स्विकार्दै भने ‘मानिसले अहिले अनेक गुनासा गरिरहेका छन्, नेता भएनन्, राजनीति भएन भन्छन् तर पनि यसको विकल्प छैन ।’ पौडेलले जनताले गुनासो गर्नु स्वाभाविक भएको पनि बताएका छन् ।

पौडेलले प्रचण्ड नेतृत्वको सरकारले राम्रो काम गरिरहेकाले त्यसबारे जनतालाई बुझाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने जनाए । सरकारले कामै गरेको छैन भनेर बजारमा गरिएका हल्लालाई चिर्नु आजको आवश्यकता रहेको उनको भनाई छ । सरकारले जनताको पक्षमा निरन्तर काम गरिरहेको दाबी गर्दै पौडेलले सरकार सञ्चालनका क्रममा भएका कमी कमजोरीलाई औंल्याइदिन पनि सञ्चारमाध्यम र पत्रकारलाई आग्रह गरे । उनले लामो समयदेखि शासन गर्दै आएका पार्टी र नेताप्रति जनताले बढी आशा राख्नु स्वभाविक भएको पनि बताए । ‘हामीप्रति जनताले विश्वास गरेका छन्, सबै कुरा गरिदिए र भइदिए हुन्थ्यो भन्छन् त्यो गर्न सकेका छैनौं तर त्यसो भन्दैमा अब हामी कामै लाग्दैनौं भन्ने होइन’ उनले भने ‘योभन्दा राम्रो व्यवस्था अरु हुन सक्दैन, भइरहेको प्रणालीलाई ध्वस्त पारेर नयाँ बाटोमा जान्छु भन्नेसम्मेत कल्पना गर्न सकिँदैन ।’

विभिन्न कारणले युवाहरु विदेश पलायन भएकोमा उनले चिन्ता व्यक्त गरेका छन् । युवालाई स्वदेशमै राख्न सरकारले कदम चाल्नुपर्ने भन्दै उनले थपे ‘कोही युवा पढ्न गएका छन्, नजाऊ भन्न मिल्दैन तर यसका साथै हामीले पनि नेपालमै गुणस्तरीय र विश्वसनीय शिक्षा दिनुपर्दछ ।’ उनले रोजगारको खोजीमा विदेशिने युवायुवतीलाई पनि यहीं केही गर्न सकिन्छ भनेर सरकारले विश्वास दिलाउनुपर्ने बताए । गत मंसिरमा भएको निर्वाचनमा केही नयाँ पार्टीको र व्यक्तिको उदय हुनुलाई उनले स्वभाविक रुपले लिएका छन् । उनले नयाँ भनिने पार्टीले पनि जनताको पक्षमा नारा लगाए पनि वैचारिक दृष्टिकोण के हो भन्ने प्रष्ट पार्न नसकेको बताए ।

राम्रो काम जसले गरे पनि त्यसको सम्मान गर्नुपर्छ भन्दै पौडेलले भने ‘हामी र हाम्राजस्ता पार्टीलाई मन नपराएर वा हामीलाई नपत्याएर अर्कातिर मत गएको हुन सक्छ त्यो मत ल्याउन हामीले भोलिको दिनमा थप मिहनेत गर्नुपर्ने देखिएको छ ।’ उनले सरकारको सुरुको सक्रियता राम्रै भए पनि पछिल्लो समयमा सरकारको कार्यशैलीप्रति मानिसले गर्ने गरेको गुनासो आफूले पनि सुनेको बताएका छन् । उनले सरकारले विगतमा भएका विभिन्न काण्डको फाइल खोल्ने र दोषीमाथि कारबाही गर्ने कुरा सकारात्मक भएकाले राम्रो कामको पनि चर्चा गर्न पत्रकारलाई आग्रह गरे ।

उनले दोषी जो देखिए पनि कारबाहीको दायरामा आउने बताए । ‘हाम्रो पार्टीको बैठकमा पनि यस्ता कुरा उठ्ने गरेका छन्, प्रधानमन्त्रीसमेत रहनुभएका हाम्रा पार्टी अध्यक्ष प्रचण्डले घटनामा जो दोषी देखिए पनि कारबाही हुन्छ भन्दा सबैले स्विकारेका छौं’ उनले भने ‘ सरकार केही सन्देश दिने काममा लागिरहेको छ जसको परिणाम आउन केही समय लाग्छ ।’ उनले सधैं नकारात्मकमात्र सोच लिने हो भनें कहिले पनि प्रगति गर्न नसकिने पनि बताए । ‘यो पनि भएन, त्यो पनि भएन, उ पनि भएन भनेरमात्रै हुँदैन सकारात्मक सोच लिएर अघि बढ्न सक्नुपर्दछ’ पौडेलले भने ‘भएन त ठिकै हो तर भएन भन्नेले के गर्दा ठिक हुन्छ भनेर पनि भन्नुपर्छ, त्यति गर्दा पनि कसैले सुनेनन् भनेंमात्र अर्को बाटो खोज्ने हो ।’

नेकपा (माओवादी केन्द्र) ले भदौ १६ गतेदेखि सञ्चालन गरेको पार्टीको तीन महिने रुपान्तरण अभियान र यसको प्रभावकारिता, सरकारको गतिविधि, संसद बैठक, विधेयक निर्माणलगायत समसामयिक विषयमा पत्रकारले प्रश्न र धारणा राखेका थिए । नेता पौडेलले पत्रकारका सुझावलाई आफूले गम्भीरतापूर्वक लिएको र सम्बन्धित ठाउँमा राख्ने पनि बताएका थिए । नेता पौडेलले पछिल्लो समयमा पत्रकारसँग निरन्तर अन्तरक्रिया गर्दै आएका छन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्