तिला गाउँपालिकाद्वारा न्यानो कपडा वितरण
काठमाडौं, पौष २८ । कतिपय स्थानीय तहले राम्रो काम गरेर चर्चा कमाइरहेका छन् भनें कतिपय स्थानीय तहले बढी अनियमितता गरेर आलोचना भोगिरहनुपरेको छ । यतिमात्रै होइन प्रमुख र उपप्रमुखको आन्तरिक विवादका कारण कतिपय स्थानीय तह सक्रिय हुन सकेका छैनन् ।
स्थानीय तहलाई संविधानले अधिकार बढी दिएको छ । स्थानीय तहका प्रतिनिधिले आफूमा अधिकार बढी भए पनि साधनस्रोत कम दिएको पनि गुनासो गरेका छन् । जुम्लाको तिला गाउँपालिकाले ज्येष्ठ नागरिकलाई चिसोबाट जोगाउन न्यायो कपडा वितरण सुरु गरेको छ । ‘ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’ अन्तर्गत मंगलबार गाउँपालिकाले वडा नम्बर १, २ र ३ का ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको हो । तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले यस आर्थिक वर्षमा ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम अन्तर्गत १० लाख बजेट विनियोजित गरिएको बताए । ज्येष्ठ नागरिकलाई उच्च गुणस्तरको ज्याकेट प्रदान गरिएको छ । पछिल्लो समयमा चिसो मौसम भएकाले जाडोको कारण कतिपय नागरिकको अकालमा ज्यान जाने गरेको छ ।

पहिलो चरणमा पालिकाको वडा नम्बर १ मा ४९ जना, वडा नम्बर २ मा ७८ र वडा नम्बर ३ मा ८२ गरी जम्मा दुई सय नौ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले जानकारी दिए । अन्य वडाका ज्येष्ठ नागरिकको घरमै पुगेर न्यायो कपडा वितरण गरिने गाउँपालिकाले जनाएको छ । ज्येष्ठ नागरिकलाई स्वास्थ्योपचारलगायत अन्य राहतमुखी कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृतले बताए ।

