सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

आमाछोदिङ्मोमा होमस्टे तालिम सम्पन्न

admin
admin

काठमाडौं, २९ माघ । रसुवाको अमाछोदिङ्मो गाउँपालिकामा होमस्टे (घरबास) अभिमुखिकरण तथा आतिथ्यता सत्कार तालिम सम्पन्न भएको छ ।

एक्स्प्लोर इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । प्राकृतिक सुन्दरता, कृषि र हाईड्रो पर्यटनको प्रचुर सम्भावना रहेको आमाछोदिङ्मो गाउँपालिकाका प्रमुख बुचुङ तामाङले तालिम समापनका अवसरमा पर्यटकीय श्रोत र साधनले सम्पन्न यो गाउँपालिकाको पर्यटन विकासमा होमस्टे अभिमुखिकरण तथा आतिथ्यता सत्कार तालिमले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

गाउँपालिकाका विभिन्न वडाका सहभागीहरुलाई यो तालिमबाट सिकेको सीप र ज्ञानलाई व्यवहारमा उतारेर गाउँपालिकाको पर्यटन विकासमा सहभागी हुन गाउँपालिका प्रमुख तामाङले आग्रह गरे । यसअघि माघ २४ गते भव्य उद्घाटन गरिएको समारोहमा आयोजक आमाछोदिङ्मो गाउँपालिकाकी उपप्रमुख चण्डिका तामाङले गाउँपालिकाभित्रका उपभोक्ताहरुले आफूसँग भएका कच्चा पदार्थलाई स्थानीय सीप र श्रमको प्रयोग गरी उत्पादन गरिएका उपभोग्य वस्तुहरुको उपभोग गर्ने सोचको विकास हुनुपर्ने धारणा व्यक्त गरिन् ।

उपप्रमूख तामाङले यस किसिमको तालिम पहिले नै आयोजना गर्न सकिएको भए यहाँको पर्यटन विकास अगाडि बढिसकेको हुने आफूलाई लागेको बताइन् । त्यसैगरी तालिम अवधिभर सहभागिता जनाएका आमाछोदिङ्मो गाउँपालिका ५ वडा नम्बर ५ का वडाअध्यक्ष दावागोम्बु तामाङ, वडा नम्बर ४ का वडाअध्यक्ष धर्म तामाङ, वडा नम्बर ३ का वडाअध्यक्ष सुरेन्द्र तामाङ, वडा नम्बर २ का वडाअध्यक्ष ल्हाक्पा कामी तामाङले समेत तालिमको औचित्यतामाथि धारणा राखेका थिए । कार्यक्रम उद्घाटन सत्रमा गाउँपालिकाका सूचना अधिकृत छेसाङदोर्जे तामाङले सभापतित्व गरेका थिए ।

त्यसैगरी तालिममा उत्सुकतापूर्वक सहभागिता जनाएका प्रशिक्षार्थीहरुले तालिमको आयोजना गरेर आफूहरुलाई एउटा आर्थिक विकासको विकल्प देखाइएको र यो तामिलबाट आफूहरुलाई होमस्टे सञ्चालन गरेर आयआर्जन गर्ने अवसर मिलेको प्रतिकृया व्यक्त गरेका थिए । डा. अलखबाबु (आलोक) प्रसाईद्वारा होमस्टे पर्यटनको सैद्धान्तिक प्रशिक्षण दिइएको उक्त तालिममा आमाछोदिङ्मो गाउँपालिकाका दुई दर्जनभन्दा बढी होमस्टेकर्मी तथा पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो । त्यसैगरी ‘भान्छे’ उपनामले चिनिने लक्ष्मणप्रसाद भण्डारीद्वारा स्थानीय खाद्य उत्पादनलाई खानाका विभिन्न परिकार बनाउन सकिने सीप सिकाएको उक्त तालिममा एक्स्प्लोर इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टका निर्देशक राजेन्द्रप्रसाद त्रिपाठीले होमस्टे पर्यटनको बजारीकरणसम्बन्धी प्रशिक्षण दिएका थिए ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्