छानविनको नाममा संस्थालाई कमजोर पार्न खोजेको रेडक्रसको आरोप
काठमाडौँ । समाज कल्याण परिषद्ले छानबिनको नाममा भ्रम सिर्जना गरेको भन्दै नेपाल रेडक्रस सोसाइटीले आपत्ति जनाएको छ ।
बुधबार काठमाडौंमा आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी रेडक्रसका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपाल र महामन्त्री भूपतिलाल श्रेष्ठले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै समाज कल्याण परिषद्ले भ्रम फैलाउने प्रयास गरेको आरोप लगाउँदै त्यसको खण्डन गरेको छ । समाज कल्याण परिषद्को हवाला दिँदै अनियमितता भएको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि आफूहरूले पनि त्यसको स्पष्टीकरण दिन बाध्य हुनुपरेको रेडक्रसका अध्यक्ष सुदर्शनप्रसाद नेपालले बताए । उनले रेडक्रसमा त्यस्तो केही समस्या नरहेको भन्दै विभिन्न तत्वहरुले संस्थाको गरिमा कमजोर पार्ने गरी बाहिरबाट खेल खेलिरहेको आरोप लगाए । उनले संस्थासँग अद्यावधिकसँगै अन्य आवश्यक कागजातसमेत भएको स्पष्ट पारे । ‘यो सबैको साझा संस्था हो भन्ने सबैलाई थाहा छ र हो पनि तर कुन तत्वले किन र कसरी खेल खेलिरहेको छ पत्रकारहरुले पनि छानबिन गर्नुपर्छ’ अध्यक्ष नेपालले भने । उनले समाज कल्याण परिषद्ले आफूहरूसँग छलफलसमेत नगरेको र कुनै कुरा पनि नसोधिएको पनि बताए । अध्यक्ष नेपालले रेडक्रस पारदर्शी रहेको र आफूहरूले यसमा राजनीति घुसाउन नदिने दाबी गरे । ‘हामी पारदर्शी छौं, हामीमा कुनै पनि किसिमको कपट छैन,’ अध्यक्ष नेपालले भने, ‘कसैलाई पनि हामी इश्र्याको भावनाले हेर्दैनौं त्यसैकारण हामीले भन्ने गरेका छौं ‘पोलिटिसियन आर वेलकम बट नट पोलिटिक्स ।’
नेपाल रेडक्रसका महामन्त्री भूपतिलाल श्रेष्ठले विश्व स्वास्थ्य संगठन तथा अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) लगायत गुणस्तर मापन गर्ने निकायमा सूचीकृत रिएजेन्ट, परीक्षण र उपकरणको प्रयोगबाट रक्तसञ्चार सेवा प्रवाह हुँदै आएको भन्दै राष्ट्रिय रक्तसञ्चार नीति, २०७१ मा उल्लेख भएअनुसार रक्तदाताको छनोट, रक्तदान प्रक्रिया, रक्तसङ्क्रमण परीक्षण, उपकरणको मर्मतसम्भार र फोहर व्यवस्थापनका मापदण्ड पालना गरिएको बताए । उनले संस्था आफ्नो उद्येश्यबाट कहिल्यै पनि पछि नहटेको पनि स्पष्ट पारे । महामन्त्री श्रेष्ठले ७ प्रदेश, ७७ जिल्ला, १६ सय उपशाखा, ६ हजार बढी सर्कल र १२ लाख बढी स्वयंसेवकमार्फत बाढीपहिरो, डुबानलगायतका विपदमा खोज, उद्धार र राहत वितरणका काममा रेडक्रसका स्वयंसेवीहरू परिचालन गरिएको र समुदायको जीवन रक्षाका लागि खटिरहेको बताए । उनले मानवीय सेवाका क्षेत्रमा क्रियाशील संस्थाको छवि कमजोर पार्ने र भ्रम सिर्जना गर्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका छन् । ‘नेपाल रेडक्रस सोसाइटीमाथि छानबिन गर्ने बहानामा कपोकल्पित, मिथ्यापूर्ण तथ्य सिर्जना गरी कारबाहीको त्रास देखाउने काम प्रचलित कानुनविपरीत छ’ महामन्त्री श्रेष्ठले भने ‘छानबिन समितिको रेडक्रसलाई आन्तरिक प्रतिवेदन प्राप्त नहुँदै विभिन्न पत्रपत्रिकामा समाचार प्रकाशित हुँदा आश्चर्यचकित भएका छौँ ।’
केही दिनयता रेडक्रसमा भ्रष्टाचार र अनियमितता भएको समाचार आएपछि बुधबार रेडक्रसले पत्रकार सम्मेलन गरेको हो ।

