शनिबार, २७ भदौ २०८३
ब्रेकिङ न्युज
समाचार

चितवनको सिमलतालको स्थलगत निरीक्षण, यातायात व्यवसायी सिटौला पनि सहभागी

admin
admin

चितवन, साउन ३ । गृह मन्त्रालयका सहसचिव छबि रिजाल नेतृत्वमा गठित समितिले बुधबार चितवनको सिमलताल घटनाको स्थलगत अध्ययन गरेको छ ।

असार २८ गते बिहान मुग्लिन– नारायणगढ सडकखण्डको भरतपुर महानगरपालिका वडा नम्बर २९ सिन्दुरे खोल्सीबाट बग्दै आएको गेग्यान सहितको पहिरोले दुइवटा यात्रुबाहक बस बगाएको थियो । दुबै बस त्रिशुलीमा खसेका थिए । झण्डै ७० भन्दा बढी यात्रु भएका ती बसबाट केही शव निकालिएको छ । अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । सो विषयमा अध्ययन गर्न असार ३१ गते गृहमन्त्रीस्तरीय बैठकले समिति बनाएको थियो ।

१० दिनभित्र सुझावसहित प्रतिवेदन पेश गर्ने गरी बनाइएको समितिले काम थालेको नेपाल यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले बताए । समिति संयोजक रिजालसहितको टोलीले घटनास्थल पुगेर पहाडमा पहिरोको उद्गम स्थलदेखि त्रिशूली नदीसम्मको भौगोलिक अवस्थाको अध्ययन गरेको जनाइएको छ ।
समितिले स्थानीयबासीहरु वडा नम्बर २९ का अध्यक्ष सूर्य दोङ बसमा सबार बेपत्ता परिवारका आफन्त, एन्जल डिलक्सका धनी राजेश केसी, गणपति डिलक्सका धनी दिनेश जैसवाल लगायतसँग कुराकानी गरेको छ । त्यस्तै घटनामा परेका गणपति डिलक्स बसका बाँच्न सफल यात्रु नन्दन दासलाई भरतपुरस्थित सिएमसी अस्पतालमै भेटेर कुराकानी गरेको छ । गाडी पल्टिन थालेपछि दाससहित केही यात्रु भागेर बाँच्न सफल भएका थिए ।

स्थलगत अध्ययनपछि चितवन जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा सर्वपक्षीय छलफलसमेत गरिएको छ । छलफलमा भरतपुरमहानगर प्रमुख रेणु दाहाल, जिल्लास्थित सबै राजनीतिक दलका नेताहरु, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी, जनपद तथा शसस्त्र प्रहरीका प्रतिनिधिहरु, सञ्चारकर्मी र बेपत्ता परिवारका आफन्तहरु सहभागी रहेका थिए ।

स्थलगत निरीक्षण र छलफलमा समितिका संयोजकसहित गृह मन्त्रालयकी उपसचिव सन्ध्या सेढाई, नेपाल यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सिटौला, प्रहरी प्रधान कार्यालयबाट एसएसपी भूपेन्द्र खत्री, सशस्त्र प्रहरी प्रधान कार्यालयका तर्फबाट एसएसपी शंकर खनाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तर्फबाट सडक विभागका डिजी प्रकाश भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक के.सी, नेपाल यातायात मजदुर संघका महासचिव जगन्नाथ गौतम सहभागी थिए ।

नेपाल यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सिटौलाले घटना दुःखदायी भएको भन्दै चिन्ता व्यक्त गरे । उनले यस्ता घटना फेरि दोहोरिन नदिन सबै सचेत हुनुपर्नेमा जोड दिए ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्