‘ओली सरकार जनताबाट डराएको छ’
काठमाडौं, माघ २ । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशमार्फत शासन गर्न थालेकोमा आपत्ति जनाएका छन् ।
वर्तमान सरकारको गठन नै अप्रजातान्त्रिक, अप्राकृतिक, अपारदर्शी एवं अनैतिक तवरले भएको उनको टिप्पणी छ । आज सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा आजपा अध्यक्ष साहले सरकारले संसद्को बैठक नबोलाएर अध्यादेशमार्फत शासन गर्न थालेकोले दबाब दिन आवश्यक रहेको बताए । सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले रोकेको विषयलाई विपक्षी दलले गम्भीर ढंगले लिनुपर्ने उनले बताए ।
‘जनताबाट डराएकै कारण यो वर्ष प्रधानमन्त्रीले लोसार, माघे सङ्क्रान्तिजस्ता उत्सवका साथै एनपिएल तथा सार्वजनिक समारोहमा सहभागी हुन छाडेका छन् । सरकारले विकासभन्दा भ्रष्टाचारमा केन्द्रित छ । सरकार विपक्षीलाई तर्साउने, डराउने र फुटाउने खेलमा लाग्यो त्यसैले संसद् अधिवेशन बोलाउन हामीले माग गर्नुपर्छ’ साहले भने । सरकार विकासभन्दा भ्रष्टाचारमा केन्द्रित रहेको उनको भनाई छ ।
बैठकमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा), आम जनता पार्टीका नेता सहभागी थिए ।

