भृकुटीमण्डपको जुत्ताचप्पल मेला माघ १० गतेसम्म
काठमाडौं, माघ ४ । काठमाडौंको भृकुटीमण्डपमा लागेको जुत्ताचप्पल मेला माघ १० गतेसम्म सञ्चालनमा आउने भएको छ ।
बम्पर सेल मेला आयोजक समितिले गत पौष ९ गतेदेखि मेला लगाएको हो । आयोजक समितिका संयोजक डिल्ली सुबेदीले मेलामा ग्राहक तथा अवलोकनकर्ताको उल्लेखनीय उपस्थिति रहेको बताए । मेलाको बारेमा जानकारी दिन समितिले मेला सुरु भएको दुई दिनपछि पत्रकार सम्मेलनको आयोजना समेत गरेको थियो । ‘यो मेलामा पाँच हजारभन्दा बढी डिजाइन र फरक फरक आकार प्रकार र उच्च गुणस्तरका जुत्ताचप्पलहरु राखिएका छन्’ संयोजक सुबेदीले भने ‘अरु कसैले लगाएका मेलाका बारेमा कहिलेकाहीँ गुनासो आउने गरेको सुनिन्थ्यो तर हामीले लगाएको मेलामा कसैले पनि केही गुनासो गर्ने मौका नै पाएको छैन र पाउँदैन पनि ।’ उनले मेलाका नाममा गुणस्तरहीन सामग्री नबेच्ने पनि स्पष्ट पारेका छन् ।
जुत्ताचप्पलमा मुलुकलाई आत्मनिर्भर बनाउन र व्यवसायलाई संरक्षण र प्रवर्दन गर्न सरकारले ध्यान दिनुपर्ने व्यवसायीहरुको भनाई रहेको छ । ‘जुनसुकै उमेर समूहका लागि पनि सामग्रीहरु उपलब्ध छन्, अहिले जाडोको समय भएकाले त्यसतर्फ पनि ध्यान दिदै बाक्ला र तातो हुने प्रकारको जुत्ताचप्पल बेचिरहेका छौं’ संयोजक सुवेदीले भने । मेलामा १० वटा कम्पनीका उत्पादन राखिएको जनाइएको छ ।

