आइतबार, ७ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

बलबहादुरले पार्टीकै उम्मेदवारलाई नै हराउन खोजेपछि….

admin
admin

काठमाडौं, माघ १५ । नेपाली कांग्रेसका केन्द्र्रीय सदस्य बलबहादुर केसी राष्ट्रिय राजनीतिमा चर्चित व्यक्ति हुन् । ४ पटकसम्म सांसद र पटक पटक मन्त्री भएका सोलुखुम्बुका केसी पछिल्लो दुइवटा संसदीय निर्वाचनमा पराजित भएपछि राजनीतिमा कमैमात्र चर्चा हुने पात्रका रुपमा देखिन्छन् तर जिल्लामा देखिएको पार्टीको गुटको राजनीतिले सबैतिर नभए पनि उनी जिल्लामा दिनहुँजसो चर्चामा आउने व्यक्ति बन्न पुगेका छन् ।

केसीले सोलुखुम्बुबाट २०७४ र २०७९ सालको प्रतिनिधिसभाको निर्वाचन हारे । २०४८ सालदेखि नै एकमात्रै निर्वाचन क्षेत्र रहेको सोलुख्ुम्बुमा हारे पनि जिते पनि केसी नै संसदीय निर्वाचनको उम्मेदवार बन्दै आएका छन् । जिल्लामा अरु पनि धेरै नेता भए पनि बलबहादुरले केन्द्रका नेतासँग ‘सेटिङ’ मिलाएर टिकट लाँदै आएका छन् । ३३ वर्षदेखि केन्द्रको राजनीतिमा प्रतक्ष्य रुपमा संलग्न भए पनि पार्टी र जनताको पक्षमा केही काम नगरेको भन्दै उनी आलोचित छन् । यतिमात्रै होइन २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा तत्कालीन नेकपा गठबन्धनका उम्मेदवार हेमकुमार राईसँग पराजित भएपछि केसीले अब निर्वाचन नलड्ने घोषणा गरेका थिए । एक औपचारिक समारोह र चियापानको आयोजना गरी पार्टीका अरु नेतालाई देखाउँदै भावी उम्मेदवार भनेर चर्चासमेत गरेका थिए । चुनावी अभियानमा धेरै पैसा खर्च भएको भन्दै केसीले गुनासो गरेपछि ती होटलमा भएको बाँकी पनि कांग्रेसका नेताले तिरिदिएको जनाइएको छ । यति भएपछि अर्को निर्वाचनमा टिकट पाइन्छ भन्ने आशा उनीहरुलाई थियो ।

२०७४ सालमा सोलुखुम्बुको प्रदेशसभामा पनि एमालेका उम्मेदवारहरु बुद्धिबहादुर राजभण्डारी र उत्तम वस्नेत (क) बाट निर्वाचित भए । यतिबेला कांग्रेसका तर्फबाट आङ्गेलु शेर्पा र प्रकाशसिं कार्की उम्मेदवार थिए । केसीले अब निर्वाचन नलड्ने भनेर देखाएको उदारताबाट उत्साहित कांग्रेसीको खुशी ५ वर्ष पनि टिकेन । अर्को संसदीय निर्वाचन आउँदा केसी आफैं उम्मेदवार भए । पार्टीको जिल्ला कार्यसमितिले पार्टी केन्द्रीय सदस्य तथा पार्टीका जिल्लाका पूर्व सभापति आङ्गेलु शेर्पाको एउटामात्रै नाम पठाएको थियो । बलबहादुरलाई समानुपातिकमा राखिएको थियो तर केन्द्रमा पहँच भएका केसी फेरि उम्मेदवार भए । केसीलाई नेकपा एमालेका उम्मेदवार मानवीर राइले हराइदिए । पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरेका राइले हराएपछि केसीको राजनीति धरापमा परेको छ । राई अहिले रक्षामन्त्री छन् । केसीले १६ हजार ५ सय ४५ मत पाउँदा राइले १९ हजार ३ सय २४ मत पाए । केसी २७ सय ७९ मतले पराजित भए ।

कांग्रेसबाट शेर्पाको नाममात्रै केन्द्रमा गएपछि एमालेभित्र उम्मेदवार बन्नेको खोजी भयो । धेरैले सजिलै उम्मेदवार बन्ने आँट पनि गरेनन् । पार्टीमा मात्रै होइन जिल्लामा नै शेर्पा चर्चित नेताका रुपमा चिनिन्छन् । शेर्पाले टिकट नपाएपछि एमालेहरु पनि खुशी भएका थिए । केसीले पार्टी कार्यकर्ता र जनतालाई मात्रै असन्तुष्ट बनाएका थिएनन्, काम गर्ने मजदुर पनि उनीसँग खुशी थिएनन् । घर बनाउँदाको पैसा नपाएर हैरान भएका मजदुरलाई २०७९ को निर्वाचनअघि फकाउन केही बाँकी रकम केसीले दिए तर पनि ती मजदुरले केसीलाई मतदान गरेनन् । उनीहरु कहीँकतै चोकमा बसेर चियाखाजा खाँदै कुनै पनि हालतमा आफ्नो काम गरेको पैसा वषौैसम्म नदिनेलाई मत पनि नदिने भन्दै आएका थिए । सोलुखुम्बुको प्रदेशसभामा अहिले एमालेकै बुद्धिबहादुर राजभण्डारी (ख) र गम्बु शेर्पा (क) मा निर्वाचित भए । गम्बु नेकपा (माओवादी केन्द्र) का नेता हुन् । २०७९ सालको निर्वाचनमा कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धन थियो । राजभण्डारीले नेकपा (माओवादी केन्द्र) का शिवबहादुर वस्नेत (राजेन्द्र) लाई हराए । प्रतिनिधिसभामा कांग्रेसले टिकट पाउँदा प्रदेशका दुइवटै टिकट माओवादीलाई दिइएको थियो ।

केसीले पछिल्लो निर्वाचनमा आफ्नो घर रहेको नेचासल्यान गाउँपालिका वडा नम्बर २ बाट नै एमालेका उम्मेदवार राइभन्दा १७ मत कम ल्याए । केसीले गाउँपालिकामा पनि मतको नेतृत्व गर्न नसक्दा पराजित हुनुपरेको थियो । गाउँपालिकामा केसीले पाएको भन्दा ४ सय ६० मत बढी पाए राइले । नेचासल्यानमा उपाध्यक्षको उम्मेदवार बनेकी कांग्रेसकी नेतृ विना राईलाई केसीले हराउन अनेक प्रयास गर्दा पनि सकेनन् । यही गाउँपालिकामा केसीको तर्फबाट अध्यक्षको उम्मेदवार भएर निर्वाचित भएका धनजन राइले २ सय ४६ मतले मात्रै जित्दा केसीले हराउन खोजेका उपाध्यक्षकी उम्मेदवारले ११ सय २५ मतले जितिन् । धनजनसँग एमालेको तर्फबाट डुफकुमार वास्तोला प्रतिस्पर्धामा थिए । वास्तोला गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । केसीले उपाध्यक्षको उम्मेदवारलाई मतदान नगर्न भनेर उर्दी गरेपछि राइको मत झन् बढी आएको स्रोतले बतायो । केसी स्थानीय तहको निर्वाचनमा आफ्नो वडाबाहेक बाहिर कतै चुनावी अभियानमा ननिस्किएको र आफुलाई मन नपरेका उम्मेदवारलाई हराउन सक्रिय भएको आरोप छ । केसीले विभिन्न स्थानमा रहेका आफ्ना मान्छेलाई फोन नै गरेर यसलाई र त्यसलाई मतदान नगर्न भनेका थिए । केन्द्रको नेता भएर पनि जिल्लामा नै कमजोर बन्दै गएका केसीको फोनले ती उम्मेदवारको पक्षमा माहौल बनेको पनि समाचारस्रोतले जनाएको छ ।

८ वटा स्थानीय तह रहेको सोलुखुम्बुमा सोलुदूधकुण्ड एकमात्र नगरपालिका छ । २०७८ को जनगणना अनुसार जिल्लामा १ लाख ८ हजारको सेरोफेरोमा जनसंख्या रहेको तथ्यांक छ । जिल्लाको झण्डै २५ प्रतिशत जनसंख्या यही नगरपालिकामा रहेको छ । सोलूदुधकुण्ड नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस उम्मेदवार विजयी भएका छन् । कांग्रेसले महाकुलुङ, सोताङ, लिखु पिके र नेचासल्यान गाउँपालिका जितेको छ । स्थानीय तहमा प्रमुख र उपप्रमुख नै भएको कांग्रेसको सबै स्थानीय तहमा कार्यपालिकामा बहुमत छ । एमालेले खुम्बु पासाङल्हामु गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष नै जितेको छ भनें अध्यक्ष जितेको माप्य दूधकोशी गाउँपालिकामा उपाध्यक्ष गुमाएको छ । यहाँ एमालेका बुद्धिकिरण राई अध्यक्ष हुँदा माओवादीका गौरव राई उपाध्यक्ष छन् । माओवादी केन्द्रले थुलुङ दूधकोशी गाउँपालिकामा प्रमुख जितेको छ । २०७४ सालमा पनि अध्यक्ष जितेका अशिम राई फेरि अध्यक्षमा निर्वाचित भएका छन् भनें माओवादीकी सविता राई उपाध्यक्ष छिन् ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा जिल्लामा कांग्रेसको झण्डै २० हजार मत आएको थियो भनें संसदीय निर्वाचनमा त्यो मत १० हजारमा सीमित भयो । स्थानीय तहमा आएको जस्तै मत कांग्रेसका उम्मेदवार केसीले पाएका भए उनले सजिलै चुनाव जित्ने थिए । गठबन्धन भएकाले माओवादीको मत आए पनि केसीले व्यक्तिगत मत ल्याउन नसक्दा पराजय भोग्नुपरेको छ । केसीको कारण नै उनलाई मत कम आएको जिल्लाका कांग्रेसीहरुको भनाई छ । स्थानीय चुनावमा आएको १६ हजार मत एमालेले संसदीय चुनावमा पनि बचाउन सकेपछि उम्मेदवार राई बलिया भए । राइले पार्टीको मतसहित कांग्रेसका केही असन्तुष्टको मत पनि पाएका थिए । लामो समयसम्म राजनीतिमा सक्रिय रहेका राइले इमानदारिताको र संघर्षको मत पनि पाएका थिए । माओवादीले पनि केही मत राइलाई दिएको तथ्यांकले देखाउँछ । स्थानीय निर्वाचनमा माओवादीले झण्डै १२ हजार मत पाएको थियो ।

सोलुखुम्ब्ुसहित कोशी प्रदेशमा १४ जिल्ला पर्दछन् । २८ वटा संसदीय निर्वाचन क्षेत्र रहेको यहाँ प्रदेशसभाबाट ५६ जना निर्वाचित भएका छन् । ताप्लेजुङ, पाँचथर, संखुवासभा, खोटाङ, धनकुटा, सोलुखुम्बु, भोजपुर, ओखलढुंगा, तेह्रथुममा प्रतिनिधिसभाको एउटामात्र निर्वाचन क्षेत्र रहेको छ भनें मोरङमा ६, झापामा पाँच, सुनसरीमा चार, उदयपुर र इलाममा दुई–दुई निर्वाचन क्षेत्र रहेका छन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्