सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

नेपाल निजामती कर्मचारी संगठनको महाधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप

admin
admin

काठमाडौं, माघ १५ । नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको १२ औं महाधिवेशन माघ ३० गते र फाल्गुण १ गते काठमाडौमा हुने भएको छ ।

काठमाडौंको राष्ट्रिय सभागृहमा हुने महाधिवेशनमा झण्डै ९ सय प्रतिनिधि रहने छन् । महाधिवेशनले ३ वर्षको लागि नयाँ कार्यसमिति चयन गर्ने जनाइएको छ । संगठनका उपाध्यक्ष प्रभास प्रसाद साहका अनुसार अहिले जिल्ला र विभागीय अधिवेशन भइरहेका छन् । उनले केही दिनमै प्रदेश अधिवेशन पनि हुने र समयमै महाधिवेशन हुने बताए । महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एक महिलासहित तीन उपाध्यक्ष, महासचिव, तीनजना उपमहासचिव, पाँचजना सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष, कार्यालय सचिवसहित १ सय ४१ जनाको केन्द्रीय कमिटी चयन गर्ने छ । महाधिवेशनले नै लेखा परीक्षण, अनुशासन र नीति अनुसन्धान आयोग पनि चयन गर्ने छ । आयोगमा अध्यक्षसहित ५ जना सदस्य रहने व्यवस्था छ । संगठनका ३८ वटा विभागीय कमिटी रहेका छन् ।

४१ हजारभन्दा बढी सदस्य रहेको संगठनको स्थापना २०४७ साल वैशाख ७ गते भएको हो । सबैभन्दा जेठो संगठनको रुपमा यो संगठनको स्थापना भएको हो । महाधिवेशनमा मतदानको लागि ५० जनासम्म सदस्य भएको कमिटीबाट अध्यक्ष एकजनामात्रै प्रतिनिधि आउने छन् भने त्योभन्दा बढी ३ सयसम्म सदस्य रहेको कमिटीबाट अध्यक्षसहित एक प्रतिनिधि, ३ सयदेखि माथि ५ सयसम्म सदस्य भएका कमिटीबाट अध्यक्ष, एक महिला र दुइजना खुला प्रतिनिधि भएर आउने उपाध्यक्ष साहले जनाए । उनका अनुसार ५ सयभन्दा बढी सदस्य भएका कमिटीबाट प्रत्येक दुई सयको संख्या बढ्दा एकजना प्रतिनिधि थपिने छन् । संगठनले कतिपय जिल्लामा आफ्नै भवन बनाएको, ६९ वटा जिल्लामा सहकारी सञ्चालन गरेको, स्मृति पार्क बनाएको, झण्डै ७० जना विद्यार्थीका लागि अभिभावकत्व ग्रहण गरेको, स्वास्थ्य शिविर सञ्चालनसँगै विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको जनाएको छ ।

नेतृत्वमा आउनका लागि अहिले भइरहेका पदाधिकारीसहित अन्य पनि आन्तरिक तयारीमा लागेका छन् । सकेसम्म सर्वसम्मत नेतृत्व चयनको प्रक्रियामा अघि बढिने एक नेताले बताए । संगठनको तदर्थ कमिटीको नेतृत्व मोहनबहादुर केसीले गरेका थिए भनें त्यसपछि गौरीबहादुर कार्की, हरिप्रसाद उप्रेती, प्रेमप्रसाद दंगाल, वालकृष्ण गिरी, सिताराम नेपाल, नगेन्द्रमणि न्यौपाने, विश्वनाथ प्याकुरेल, मुरारी भट्टराई, गणेश बस्याल, भोलानाथ पोखरेल, पुण्यप्रसाद ढकाल, मोहनकुमार घिमिरे र केदारप्रसाद देवकोटा अध्यक्ष भइसकेका छन् । यीमध्ये केहीले छोटो समय नेतृत्व गरेका छन् । महाधिवेनशको प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्