‘कांग्रेसले मिसन २०८४ भनिरहनु पर्दैन’
काठमाडौं, माघ २० । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता एनपी साउदले कांग्रेसलाई ‘मिसन २०८४’ भन्ने छुट नभएको बताएका छन् ।
केही दिनअघि आफू निर्वाचित भएको गृहजिल्ला कञ्चनपुरमा पुगेका उनले केही त्यहाँ भएको कार्यक्रममा कांग्रेसलाई २०७९ को चुनावबाट जनताले ‘म्यान्डेड’ दिइसकेकाले त्यसै अनुसार काम गरेर देखाउनुपर्ने बताए । ‘कांग्रेसलाई मिसन २०८४ भन्ने छुट छैन, हामी देशको ठूलो पार्टी भएकाले २०८४ कुर्नुपर्ने काम छैन , हारेकाहरुले हो, मिसन २०८४ भनेर जनतालाई भ्रमित बनाउने’ उनले भने । तीनवटै तहका जनप्रतिनिधिले उदाहरणीय काम गरे २०८४ मा जनताले आफैं कांग्रेसको खोजी गर्ने उनको दाबी थियो । उनले कांग्रेसप्रति जनताको विश्वास बढ्दै गएकाले पार्टीले पनि जनताको चाहना पूरा गर्ने गरी काम गर्नुपर्ने बताए ।
उनले जनप्रतिनिधिलाई पनि आफ्नो काममा सक्रिय भएर लाग्न आग्रह गरे । ‘जनप्रतिनिधि भइसकेपछि आलोचनाबाट डराउनुपर्ने छैन, जनप्रतिनिधिले आफ्नो काममा केन्द्रित हुन आवश्यक छ,’ उनले भने ‘पार्टीमा युवालाई योगदान र कामका आधारमा न्याय दिने कुरामा पनि विश्वास दिलाउन चाहन्छौँ ।’

