सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

३५ वर्षसम्म देश बिगार्ने भनेर नामै लिएर गाली गरे महतोले

admin
admin

काठमाडौं, फाल्गुण २० । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रमुख तीन दलले अहिलेसम्म शासन गरेकाले देशको अवस्था बिग्रिएको आरोप लगाएका छन् । पार्टीद्वारा बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले अहिलेसम्म शासन गरिरहेकाले देशले प्रगति गर्न नसकेको बताए ।

उनले अहिलेको सरकारले वर्तमान समस्याको समाधान गर्न नसक्ने ठोकुवासमेत गरे । ‘यो सरकार पनि जनताको लागि केही गर्नका लागि बनेकै होइन, गरौं भन्ने चिन्तन पनि छैन, यही ताल हो भनें देश झन् बर्बादीतिर जान्छ’ उनले भने ‘प्रधानमन्त्री केपी शर्मा ओलीको सोच नै राम्रो छैन, उनी आफूबाहेक अरु सोच्न पनि सक्दैनन्, यस्तो सोचले देश बन्दैन ।’ महतोले ओलीको चिन्तनमा नै समस्या रहेको पनि बताए । सरकार निर्माण भएको ८ महिनामा पनि सुधारका संकेत नदेखिएको भन्दै अध्यक्ष महतोले देशको रक्षाका लागि सबै एकजुट हुनपर्ने बेला आएको बताएका छन् । पार्टीको फाल्गुण १२ र १३ गते बसेको केन्द्रीय समितिको बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले पार्टीको आगामी कार्यदिशाबारे पनि जानकारी दिएका थिए । उनले पार्टीले आगामी चैत्र १ गतेदेखि वैशाख १५ गतेसम्म पार्टी संगठन विस्तार गर्ने अभियान चलाइने स्पष्ट पारे । गत माघ ८ गते निर्वाचन आयोगमा दर्ता भएको यो पार्टीको चुनावचिन्ह ‘तीरधनुष’ रहेको छ ।

अध्यक्ष महतोले आफ्नो पार्टीले देश र जनताको आवश्यकतालाई हेरेर राजनीति गर्ने बताएका छन् । ‘अब हाम्रो पार्टीले मात्रै देशलाई सही दिशा दिन सक्छ त्यसैले सबैलाई यो अभियानमा आउन आग्रह गर्दछु’ महतोले भने ‘भर्खरै मात्रै पार्टी स्थापना भएको छ, सुरुवाती लक्षण राम्रै छ, भोलि हामी निर्णायक शक्ति बन्नेमा ढुक्क छौं ।’ उनले यो पार्टीमा सबैको विचार र भावना अटाउने भएकाले कुनै पनि भ्रममा नपर्नसमेत आग्रह गरेका छन् । पटक पटक सांसद हुँदै राजनीतिमा उदाएका महतो उपप्रधानमन्त्रीसमेत भइसकेका छन् । पार्टीले अरु दलसँग एकताका लागि वार्ता गर्न रामनरेश रायको संयोजकत्वमा ७ सदस्यीय वार्ताटोली पनि यसअघि नै गठन गरिसकेको छ । पार्टीले पार्टी सञ्चालनका लागि सबैसँग आर्थिक सहयोगको अभियान पनि चलाउने जनाएको छ ।

अध्यक्ष महतोले ताप्लेजुङको पाथीभरामा बनाउने भनिएको केबलकारको विषय गम्भीर भएको बताएका छन् । हालैमात्र ताप्लेजुङ पुगेर फर्किएका उनले केवलकार निर्माणको विपक्षमा रहेकाको भावनाको सरकारले सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् । ताप्लेजुङमा रहँदा महतोले केबलकारको बारेमा विभिन्न पक्षसँग छलफल पनि गरेका थिए । ताप्लेजुङबाट फर्किएपछि आफ्नो पीएस्ओलाई सरकारले फिर्ता लगेकामा महतोले आपत्ति जनाएका छन् । पार्टीले विभिन्न ठाउँमा आ–आफ्ना माग राख्दै आन्दोलन गरिरहेका पक्षसँग सम्बाद गर्न सरकारले तत्परता नदेखाएकोमा समेत उनले सरकारको आलोचना गरेका छन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्