शनिबार, ६ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

दण्डहीनता कायम राख्ने कि अन्त्य गर्ने भन्ने प्रश्न प्रमुख हो –अध्यक्ष अर्याल

admin
admin

काठमाडौं, जेठ १२ । नेपाल मानव अधिकार संगठनका अध्यक्ष इन्द्र अर्यालले नेपालमा दण्डहीनता अन्त्य गर्ने कि कायमै राख्ने भन्ने मुख्य प्रश्न रहेको बताएका छन् ।

संगठनले बिहीबार काठमाडौंको लाजिम्पाटमा रहेको नेपाली चुलोमा आयोजना गरेको ‘मानव अधिकार र लोकतन्त्रमा संक्रमणकालीन न्यायको असर’ विषयक अन्तरक्रियामा सहभागीहरुले पनि संक्रमणकालीन न्यायालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका थिए । संक्रमणकालीन न्यायका कारण पीडितहरु झन् पीडामा रहेकाले यसको तत्काल व्यवस्थापन हुनुपर्नेमा सबैको एकमत रहेको संगठनका अध्यक्ष अर्यालले बताए । ‘संक्रमणकालीन न्यायका कारण पीडितले थप पीँडा भोगिरहेको छ भनें पीडकले उन्मुक्ति पाएको छ, लोकतन्त्रका लागि यो दुःखद् पक्ष हो’ अध्यक्ष अर्यालले भने ‘जति यो समस्या बढ्दै जान्छ त्यति नै अवस्था गिजोलिने भएकाले पनि सरकार र सम्बन्धित सरोकारवालाले यो विषयमा गम्भीर बन्नुपर्ने बेला भएको छ ।’

नागरिकस्तरीय अन्तरक्रियामा संक्रमणका कारण पीडित भएकाहरुले आफ्नो गुनासो राखेका थिए । अध्यक्ष अर्यालले आफूहरुले यसबारेमा पटक पटक ध्यानाकर्षणपत्र बुझाउँदा पनि सरकार गम्भीर नभएको भन्दै आपत्ति जनाए ।

‘अस्थिरतामा सधैं फाइदा लिन पल्केका केही तत्वले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन खोजिरहेका छैनन् भन्ने मेरो बुझाई हो ’ अध्यक्ष अर्यालले भने ‘सरकार खोई केमा अलमलिएको छ र के गर्दैछ भन्ने पत्तो नै छैन, जुन काम प्राथमकिताका साथ गर्नुपर्ने हो त्यो नगरेपछि सरकार छ भन्ने कि छैन भन्ने नै अन्यौल छ ।’ उनले यो विषयलाई टुंगोमा पुर्याउने जिम्मेवारी कुनै एउटा राजनीतिक दलको मात्र नभएकाले समाज र सामूहिक हितका लागि सबै दल गम्भीर बन्नुपर्ने बताए ।

संगठनले पटक पटक यस्तो अन्तरक्रिया गर्दै मानअ अधिकारसँग अन्य विषयमा सरकार र सरोकारबालाको ध्यानाकर्षण गर्दै आएको छ । अन्तरक्रियामा संगठनका पूर्व अध्यक्ष चरण प्रसाई, अन्य विशिष्ट व्यक्तिका साथै विषयविज्ञ र सरोकारवालाले आफ्नो धारणा राखेका थिए ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्