‘मायाका मिठा कुरा’ सार्वजनिक
काठमाडौं, असार ३१ । संगीतयात्रामा आफ्नो अलग पहिचान बनाउन संघर्षरत उदीयमान गायक आकाश आचार्यको स्वरमा सजिएको नयाँ गीत ‘मायाका मिठा कुरा’ सार्वजनिक भएको छ ।
प्रतिभाशाली गायिका अस्मिता अधिकारीसँगको युगल गायनमा तयार भएको यो गीतमार्फत आकाशले फेरि एकपटक आफ्नो गायन क्षमतालाई प्रमाणित गरेका छन् । उज्ज्वल सागरको संगीत र विश्व अधिकारीको एरेञ्जमा तयार भएको गीतमा आकाश आचार्य स्वयंले मुख्य अभिनय पनि गरेका छन् । मिशेल घिमिरेसँगको रोमान्टिक केमेस्ट्रीले भिडियोलाई झनै आकर्षक बनाएको छ । गीतको निर्देशन चर्चित निर्देशक निर्मल पौडेलले गरेका हुन्, निर्मलको ‘बालखैमा दिल बस्यो’ सहित अन्य हिट गीतहरूले नेपाली संगीत बजारमा राम्रो छाप छोडेका छन् ।
गायक आकाश आचार्यले यसअघि पनि केही गीतहरू सार्वजनिक गरिसकेका छन्, जसबाट उनले दर्शकको राम्रो प्रतिक्रिया पाएका छन् । संगीतप्रति गहिरो मोह राख्ने आकाशले गुरु कामकसँग औपचारिक संगीत प्रशिक्षण लिएका हुन् । व्यवसायसँगै संगीतलाई पनि जीवनको महत्वपूर्ण हिस्सा बनाउँदै उनले गायन क्षेत्रमा दीर्घकालीन यात्राको लक्ष्य लिएका छन् । ‘मायाका मिठा कुरा’ मा प्रेमी–प्रेमिकाबीचको रोमान्सलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । भिडियोको छायांकन विवेक खड्काले गरेका हुन् भने सम्पादन भिम विश्वकर्माले गरेका छन् । निरज पौडेलको पब्लिसिटी डिजाइन रहेको यस गीतलाई सपना बजगाईंले निर्माण गरेकी हुन् ।
ललितपुरको गोदावरी, काठमाडौंको कीर्तिपुरलगायतका सुन्दर स्थलहरूमा छायांकन गरिएको गीत घाम्किरी फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

