कांग्रेसजत्तिको पनि भएन एमाले
काठमाडौं,पौष २१ । नेपाली कांग्रेसले केही दिनअघि एउटा निर्णय गरेको समाचार बाहिरियो, धेरैले पत्याएनन् तर अन्तिममा त्यही भयो । यो हो २०६४ सालपछि समानुपातिक सांसद भएकाले पार्टीले फेरि नदोहो¥याउने, यो कुरा पनि हावा होला भनेर धेरैले अनुमान लगाएका थिए तर कांग्रेसले त्यही निर्णय गरेर राम्रो गरेको भनेर प्रतिक्रिया पाएको छ ।
नेपाली कांग्रेसको समानुपातिकको कोटामा बसेर सधैं रजाइँ गरिरहेकाहरुको लागि भनें यो निर्णय दुःखद् भए पनि समग्र रुपमा हेर्दा यो निर्णय जोसुकैले पत्याउने खालको छैन । गाउँ जानु नपर्ने, काठमाडौंमा नै बसेर नेताको पछि घुमेरे चाकरी चाप्लुसी गरेको भरमा नै सधैं समानुपातिक सांसद भइरहन पल्केकाहरुलाई भनें यो निर्णयले धक्का दिएको छ । समानुपातिक निर्वाचन प्रणाली २०६४ सालदेखि सुरु भएको हो । संविधानसभाको पहिलो निर्वाचनबाट सुरु भएको यो सिस्टम के र कसका लागि भन्ने अझैसम्म प्रष्ट हुन सकेको छैन । नीतिगतरुपमा स्पष्ट भए पनि नेताहरुले यसलाई दुरुपयोग गर्दै आएका छन् । गाउँमा जनतासँग सम्बन्ध नभएका र कुनै पनि दिन जनताको दुःखसँग नजोडिएकाले यो सिस्टम भजाएर खाइरहेका थिए । पार्टीमा पनि कुनै न कुनै कोटाका नाममा प्रमुख भूमिकामा रहेपछि आफू निश्चित रुपमा नै समानुपातिकमा परिन्छ भन्नेहरुको लागि अब भनें बिजोग भएको छ । जनतासँग सम्बन्ध भएको जो पनि प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्ने आँट गर्छ तर गाउँ नै नजाने र कसैको मतलब नगर्नेका लागि भनें निर्वाचन उठ्नु र नउठ्नुको कुनै अर्थ छैन । गाउँमा जेजस्तो भए पनि निर्वाचनमा टिकट पाउने बेलामा ‘म भए निर्वाचन जित्छु र अरुले हार्छन्’ भन्ने कुरा नौलो विषय होइन । पार्टीले टिकट नदिए पनि जनतामा लोकप्रिय मानिसले चुनाव जित्नेमा शंका छैन । कहिलेकाहीँ पार्टीले टिकट नदिँदा उनीहरुले तत्कालै अर्को पार्टी रोजेर वा स्वतन्त्र उम्मेदवार भएर भए पनि निर्वाचन जितेका उदाहरण धेरै छन् ।
निर्वाचनमा कुन क्षेत्रबाट कसले निर्वाचन जित्छ भन्ने कुरा पार्टीले पहिले नै हिसाव राखेर बस्नुपर्ने भए पनि अहिलेसम्म त्यस्तो गरेको पाइदैन । निर्वाचनको मुखमा पार्टीका नेतालाई जसले प्रभाव पार्न सक्छ उसैले टिकट लाने चलन नेपालको राजनीतिमा छ । उसले चुनाव हार्दा पार्टीको एक सिट घट्छ भन्नेमा नेतालाई चिन्ता हुँदैन कि उसबाट के पाइयो र उसले के दियो भन्ने कुराले बढी अर्थ राख्ने गर्दछ । नेपाली कांग्रेसले समानुपातिक छनौटको मापदण्ड बनाएर यस्तो निर्णय गरे पनि नेकपा एमालेले भनें पुरानैलाई समानुपातिकको सूचीमा समेटेको छ । चुनाव जित्न गाह्रो भएका र हिजोको दिनमा पनि नमजाले पराजित भएकाहरु अहिले समानुपातिकको माथिकै सूचीमा बसेका छन् । माथि नै नाम हुँदा सामानुपातिकमा परिन्छ भनेर उनीहरु ढुक्क छन् । एमालेमा केपी शर्मा ओली फेरि पनि अध्यक्ष जितेर आएका छन् । लोकतन्त्र, विधि र प्रक्रियाको चर्को नारा लगाउने उनले भनें आफ्नै सेरोफेरोमा रमाउने र आफूलाई ‘पुजा गर्ने’लाई मात्रै समानुपातिकमा प्राथमिकता दिएका छन् । ओलीले समानुपातिकमा एकलौटी गरेको भन्दै इश्वर पोखरेल पक्षले असन्तुष्टि जनाएको छ । पटकपटक समानुपातिकमा अवसर पाएकालाई नै फेरि पनि दोहो¥याउँदा एमालेले समानुपातिक सिस्टमको नै खिल्ली उडाएको छ ।

