जनतालाई कहिल्यै पनि नरुवाउने कांग्रेस उम्मेदवार प्रकाशचन्द्र दवाडीको प्रतिबद्धता
काठमाडौं, माघ २४ । गोरखा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको तर्फबाट प्रकाशचन्द्र दवाडी उम्मेदवार रहेको छन् । आगामी फाल्गुण २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिएका उनी राजनीतिक व्यक्तिमात्रै नभएर समाजसेवीको रुपमा पनि जिल्लाभर स्थापित भइसकेका छन् । उनले सधैं जनताको मन जिते काम गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् ।
दिनहुँजसो मतदातको घरमा पुगेर मत माग्दै आएका उनले आफ्नो केही कमीकमजोरी छ भनें खुलेर भनिदिन पनि आग्रह गरेका छन् । ‘मैले हिजो केही गल्ती गरेको भए खुलेर भनिदिनुहोला, गल्ती नै भएको भए सच्याउने छु नभए अब यो क्षेत्रका लागि के गर्नुपर्छ सल्लाह दिनुहोला त्यसै अनुसार काम गर्छु’ उनी भन्छन् ‘ म राजनीतिमा गलत नियतले आएको होइन, त्यो तपाइहरुलाई पनि थाहा छ, सकेसम्म राम्रो काम गरेको छु, जानीजानी बिगारेजस्तो केही लाग्दैन ।’ उनी उम्मेदवार भएपछि त्यो क्षेत्रमा कांग्रेसबीच पनि एकता कायम भएको छ । उनले निर्वाचन जिताउनका लागि पार्टीका नेताका साथै मतदाता र शुभचिन्तकसँग आग्रह गर्दै आएका छन् । उनले मतदातालाई भेट्ने कार्यतालिक बनाएर सामाजिक सञ्जालमा सार्वजनिकसमेत गर्दै आएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीले सोमबार काठमाडौंमा आफ्ना मतदाता तथा शुभचिन्तकसँग छलफल गरेका छन् । गोंगबुको महर्षि कलेजमा आयोजित अन्तरक्रियामा सहभागीहरुले त्यो क्षेत्रको विकासको लागि दवाडीको आवश्यकता भएको औंल्याएका थिए । दवाडीलाई त्यस क्षेत्रका मतदाताले सकिने काममात्र गर्न र आश्वासन धेरै नबाँड्नसमेत आग्रह गरे । ‘कतिपय कुरा मलाई पनि थाहा हुँदैन, अन्तरक्रियाबाट आएका सुझावलाई आधार मानेर अघि बढ्छु’ उनले भने ‘जनताको मन जित्ने गरी काम गर्छु, यसमा कुनै शंका गर्नु पर्दैन ।’ उम्मेदवार दवाडीले अन्तरक्रियामा आएका सुझाव, गुनासा र टिप्पणीलाई डायरीमा टिपेका थिए ।
गोरखा पर्यटकको राम्रो सम्भावना भएको ठाउँ भएकाले पर्यटनका एजेण्डालाई जोड दिन पनि सुझाव दिइएको थियो । त्यस्तै गोरखामा कृषिको पनि प्रचुर सम्भावना भएकाले कृषिमैत्री योजना अघि सार्न सहभागीहरुले सुझाव दिए । दवाडीले कृषकले उत्पादन गरेका सामग्री बिक्रीवितरणका लागि सहज वातावरण बनाउने र उचित मूल्य पाउने कुरामा आफू लागिपर्ने बताए । सहभागीहरुले कतिपय सडक अपूरा भएको, विजुली सबै ठाउँमा पुग्न नसकेको, पूर्वाधार बन्दै गरे पनि सम्पन्न हुन नसकेको पनि गुनासा गरेका थिए । कार्यक्रममा दवाडीले आफ्नो विचार राखिसकेपछि अन्तरक्रिया गर्दै सहभागीका प्रश्नको जवाफ पनि दिएका थिए । ‘म पात्र हुँ, चुनाव जित्ने तपाइहरुले नै हो’ उनले भने ‘मैले हिजो पनि रुवाइन र भोलि पनि तपाइहरुलाई रुवाउने काम गर्दिन ।’
गोरखामा प्रतिनिधिसभाका दुइवटा निर्वाचन क्षेत्र रहेका छन् । दवाडीले फाल्गुण २ गते चितवनमा मतदाता तथा शुभचिन्तकसँग अन्तरक्रिया गर्ने भएका छन् । काठमाडौंमा भएको अन्तरक्रियामा नेपाली कांग्रेसकी निवर्तमान केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सांसद कमला पन्त, कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारका साथै गोरखाका नेता तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।
दवाडी २०७४ सालको प्रदेशसभाको निर्वाचनमा गोरखा–२ को (ख) प्रदेशबाट निर्वाचित भएका थिए । उनले त्यतिबेला पनि आफूले सांसदबापत पाउने तलब समाजसेवामा खर्च गरेका थिए । उनले प्रतिनिधिसभाको सांसद भएर पनि तलव र सुविधा समाजसेवामा लगाउने बताएका छन् । प्रदेश सांसद हुँदा गरेका राम्रा काम पनि आज चुनाव जित्ने आधार भएको उनले बताए । उनले ‘मेरो राजनीति तपाइहरुकै सेवाका लागि, मेरो राजनीति समाजकै टेवाका लागि’ भन्ने नारा नै बनाएका छन् ।

