आइतबार, ७ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

अन्तरघात नै सबैभन्दा बढी घातक

admin
admin

काठमाडौं, माघ २४ । आगामी फाल्गुण २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारहरु सक्रिय भएर प्रचारमा लागेका छन् । निर्वाचनको वातावरण अघि बढ्दै गएपछि मतदाताले भित्री रुपमा घरदैलो अभियान पनि सुरु गरिसकेका छन् । निर्वाचन आयोगले फाल्गुण ४ गतेदेखिमात्रै प्रचारप्रसारको समय छुट्याएकाले भाषण र अन्य ठूला आमसभा भनें अहिले गर्न पाइदैन । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दल, उम्मेदवार र आमनागरिकलाई आग्रह गर्दै आएको छ ।

आचारसंहिताका कतिपय उजुरी निर्वाचन आयोगमा परेका छन् । आयोगले त्यसलाई छानबिन पनि गर्दै आएको छ । यसपटकको निर्वाचनमा सबैजसो दल आफ्नै उम्मेदवार अघि सारेर निर्वाचनमा होमिएका छन् । विगतमा हुनेजस्ता अन्य पार्टीसँगको तालमेल यस पटक नभएकाले पनि यो निर्वाचनमा राजनीतिक पार्टीहरुको सही परीक्षण हुने भएको छ । निर्वाचनमा हार्छुजस्तो लागेका केही नेताले अझै पनि अरु पार्टी र उनका उम्मेदवारसँग तालमेल गर्ने कुरा गर्दै आए पनि अहिलेसम्म त्यो सम्भव भएको छैन । उम्मेदवार जो भए पनि त्यो पार्टीको नै मान्छे भएकाले उसलाई बिनाशर्त जिताउनु पार्टीका नेता तथा कार्यकर्ताको कर्तव्य हो तर आफूले टिकट नपाउँदा पार्टी नै सकियो भन्ने र आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने रोग जुनसुकै पार्टीमा पनि कायम छ । सधैं एउटै व्यक्तिले टिकट पाइरहने समस्याले भोलिको दिनमा सांसद बन्छु भनेर राजनीति गर्नेहरुको भावनामाथि प्रहार हुँदै आएको छ । निर्वाचन जिते पनि क्षेत्र नछोड्ने र हारे पनि फेरि यसपालिचाहिँ जित्छु भनेर टिकट विभिन्न ढंगले लिने परिपाटी खतरनाक बनेको छ । राजनीति कसैको पेवा होइन, क्षेत्र सबैको साझा भएकाले पनि जित्ने सम्भावना भएका उम्मेदवार चयन गरेर उनीहरुलाई एकपटक अवसर दिनु जुनसुकै पार्टीको कर्तव्य हुन आउँछ ।

आफूले टिकट नपाउँदा आफ्ना उम्मेदवारलाई असहयोग गर्ने र उसले जित्यो भनें उसले भोलि क्षेत्र छोड्दैन र मेरो राजनीति सकिन्छ भनेर हराउने क्रम बढ्दै गएको छ । यो हिजो एउटा पार्टीमा मात्रै थियो भनें अहिले अरु पार्टीमा पनि रोगको रुपमा विकास भएको छ । हुन त क्षेत्र थोरै छन्, सबैले एकैपटक टिकट पाउन सम्भव छैन त्यसैले पनि आफ्ना उम्मेदवारलाई आफू नै उम्मेदवार भएजस्तो गरेर सघाउनुपर्नेमा ठिक उल्टो देखिँदै आइएको छ । बरु अरु पार्टीका मतदाता र सर्वसाधरणलाई फकाउन सकिए पनि सबैभन्दा ठूलो समस्या भनेको आफ्नै पार्टीका असन्तुष्टहरुको डर भएकाले यसलाई व्यवस्थापन गर्न पार्टी र उम्मेदवारलाई संकट पर्दै आएको छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्