पेट्रोलपम्पले तेल हालिदिन्छन् कि हावा ?
काठमाडौं, असोज ११ । पेट्रोलपम्पले पेट्रोल, डिजेललगायतका सामग्री सवारीसधानमा हालिदिँदा उपभोक्तालाई ठग्ने गरेको गुनासो सधैंजसो आउने गरेको छ ।
कतिपय अवस्थामा मिसावटयुक्त पेट्रोलियम पदार्थ हालिदिने त कहिले आवश्यक परिणाममा तेल नहालिदिने भनेर उपभोक्ताले गुनासो गर्ने गरेका छन् । यिनै कारण कहिलेकाहीँ उपत्यकाका कतिपय पेट्रोलपम्म कारबाहीमा परेर केही समय बन्द पनि हुने गरेका छन् । सरकारले यो विषयलाई गम्भीरताका साथ लिनु जरुरी छ । मानिसले अत्यावश्यक परेर पेट्रोल हालिरहँदा उसले अरु कुरा खोज्दैन यही मौकामा पेट्रोलपम्पले ठग्ने गरेका छन् ।
काठमाडौं उपत्यकाका पनि कतिपय पेट्रोलपम्पमा डिजिटल मेसिन छैन । डिजिटल मेसिन नहुँदा पूरामात्रामा पेट्रोल दिने गरिएको छैन । न्यूनतम धर्को नआइकन नै पेट्रोलको मेसिन बन्द गरिने गरिएको देखिन्छ । पेट्रोलपम्पले आवश्यक पर्ने चानचुने पैसा पनि राख्दैनन् त्यसो हुँदा कुनैले पनि कम मूल्य लिँदैनन् र २ –३ रुपैंयाँ ठगिरहेका हुन्छन् । प्रतिलिटर २ सय २२ रुपैयाँ पेट्रोलको मूल्य हुँदा पेट्रोलपम्पले २ सय २५ रुपैंयाँ लिने गरेका छन् तर केहीले भनें बाँकी रकम दिने पनि गरेका छन् तर मूल्य २ सय २१ भयो भनें त्यो १ रुपैंयाँ पनि छुट दिँदैनन् । यो तथ्यांकलाई हेर्दा पेट्रोलपम्पले देखीदेखी कति ठग्दा रहेछन् भन्ने बुझ्न सकिन्छ ।
तेल हाल्दा मेसिन घयाच्चघयाच्च पार्दा उनीहरुलाई फाइदा हुने गरेको छ । यो अवस्थामा तेल होइन ट्यांकीमा हावामात्रै पस्छ । यसरी यो प्रक्रिया एकपटक गर्दा झण्डै ५० देखि ६० मिलिलिटर हावा भरिन्छ, यो पनि पेट्रोलपम्पको फाइदा नै भयो । एक लिटर तेल हाल्दा तीन पटक मेसिन थिच्दा झण्डै १ सय ५० देखि १ सय ८० मिलिलिटर तेल कम हुन्छ । सरकार र सम्बन्धित निकायले यसतर्फ ध्यान दिनु जरुरी छ ।

