‘अग्रजको आशिर्वाद र युवाको साथ’ भन्दै कांग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिए गणेशले
काठमाडौं, असोज ९ । नेपाली कांग्रेसको महाधिवेशन भइरहेको छ । दाङको क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा बंगलाचुली गाउँपालिका–१ का गणेश विश्वकर्माले उम्मेदवारी दिएका छन् । भोलि शनिबार महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन हुँदैछ । महाधिवेशन प्रतिनिधिले असोज १६ गतेदेखि १९ गतेसम्म हुने केन्द्रीय महाधिवेशनमा पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई मतदान गर्नेछन् ।
२०७९ सालको स्थानीय निर्वाचनमा बंगलाचुलिको स्थानीय जनता, नेता कार्यकर्ता साथीहरूको सहयोगले गाउँकार्यपालिका सदस्य निर्वाचित भएका विश्वकर्माले यो महाधिवेशनमा पनि पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरुको साथ पाउने विश्वास गरेका छन् । ‘सबैको सल्लाहले नै म अघि बढेको हुँ, तपाइजस्तो मान्छे पार्टीमा चाहिन्छ भन्ने कुरा आएपछि म अघि बढें’ उनले भने ‘मेरो एजेण्डा प्रष्ट छ, पार्टीलाई राम्रो बनाउने र सबैलाई पार्टीमा समेट्ने मेरो लक्ष्य हो ।’ विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको विचार, संगठन र संघर्षको यात्रामा निरन्तर सक्रिय रहँदै विचार, निष्ठा, जिम्मेवारी र समर्पणका साथ अघि बढिरहेको उनले बताएका छन् । ‘म गणेश विश्वकर्मा नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दाङ क्षेत्र नम्बर २ बाट ३५ वर्षमुनिको युवा (पुरुष तर्फ) केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्दछु । मेरो यो उम्मेदवारी युवाशक्तिको सार्थक सहभागिता सुनिश्चित गर्दै जिम्मेवार, परिणाममुखी र उत्तरदायी नेतृत्व स्थापित गर्ने, सामाजिक न्यायसहितको समतामूलक समाज निर्माणमा योगदान पुर्याउने तथा बंगलाचुलीको एकता, पहिचान र आवाजलाई केन्द्रसम्म सशक्त रूपमा पुर्याउने प्रतिबद्धताको निरन्तरता हो ।’
उनले ‘अग्रजको आशिर्वाद र युवाको साथ’ पनि आफ्नो उम्मेदवारीको मुख्य पक्ष भनेका छन् । ‘पार्टीभित्र एकता, अनुशासन र पारदर्शितालाई संस्थागत गर्दै संगठनलाई अझ सुदृढ, गतिशील र जनमुखी बनाउने दृढ अठोटका साथ म यो यात्रामा अघि बढेको छु । यहाँहरूको अमूल्य मत, विश्वास र साथ सहयोगको हार्दिक अपेक्षा गर्दछु’ उनले भनेका छन् ।
२०६९ सालदेखि नेपाल विद्यार्थी संघमार्फत राजनीतिक यात्रा सुरु गरेका विश्वकर्माले विद्यार्थी राजनीतिदेखि नै संगठन, विचार र आन्दोलनमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । उनी नेपाल दलित विद्यार्थी संघ तथा सीटीइभीटीका नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यका रूपमा विद्यार्थी हकहितका विभिन्न आन्दोलनमा अग्रपंक्तिमा सक्रिय रहँदै आएका थिए । पार्टीका विभिन्न तहमा जिम्मेवारी बहन गर्दै आएका विश्वकर्मा हाल बंगलाचुली गाउँपालिकाको गाउँ कार्यपालिका सदस्य, सामाजिक विकास समिति संयोजक तथा न्यायिक समितिका सदस्यका रूपमा कार्यरत छन् । स्थानीय तहमा शिक्षा, स्वास्थ्य, सामाजिक समावेशिता र विकासका मुद्यामा सक्रिय भूमिका निर्वाह गर्दै आएका उनी एक जिम्मेवार र परिणाममुखी युवा जनप्रतिनिधिका रूपमा परिचित छन् ।

इन्जिनियरिङ, राजनीतिशास्त्र र समाजशास्त्रका विद्यार्थीसमेत रहेका विश्वकर्मा त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातक तथा इन्जिनियरिङमा डिप्लोमा उत्तीर्ण छन् । अध्ययन, अनुभव र व्यवहारको संयोजनमार्फत राजनीतिमा नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने उद्देश्यका साथ उनी अघि बढिरहेका छन् । दलित समुदायबाट उदाएका विश्वकर्मा सामाजिक न्याय, समावेशिता र समान अवसरमा आधारित समाज निर्माणका लागि प्रतिबद्ध युवा नेताका रूपमा चिनिन्छन् । उनी समाज परिवर्तन, युवाको सशक्तिकरण र समतामूलक विकासका मुद्दालाई केन्द्रमा राख्दै राजनीतिक तथा सामाजिक अभियानमा सक्रिय छन् ।
सामाजिक सेवामा पनि उत्तिकै सक्रिय विश्वकर्मा नेपाल रेडक्रस सोसाइटी, सर्वोदय पुस्तकालय दाङ र लायन्स क्लबलगायतका संस्थासँग आबद्ध छन् । साथै उनले विभिन्न पत्रपत्रिकामार्फत समसामयिक राजनीति, समाज र युवासम्बन्धी विषयमा विचार लेख्दै आएका छन् ।आलोचनात्मक चेतना, स्पष्ट दृष्टिकोण र वैचारिक दृढताका साथ अघि बढिरहेका विश्वकर्मा समकालीन नेपाली राजनीति, समाज र स्थानीय शासनसँग नजिकबाट जोडिएका युवा नेताका रूपमा स्थापित हुँदै आएका छन् । उनले आफ्नो उम्मेदवारीमार्फत युवा पुस्ताको आवाजलाई पार्टीको केन्द्रीय तहसम्म पुर्याउने, संगठन सुदृढ गर्ने र समावेशी लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

