बिहीबार, ६ कार्तिक २०८३
ब्रेकिङ न्युज
Breaking

नदीले बगाएर नलगेको मान्छे

admin
admin

घनश्याम गौतम
मलाई नदीको आवाजबाट बिहान भएको थाहा हुन्थ्यो । आँखा नखोल्दै म उसलाई सुन्थेँ—पहाडको छातीभित्र कतैबाट निस्किएर हाम्रो गाउँको काख हुँदै बगिरहेको भोटेकोशी । बिहानको मिरमिरेमा उसको आवाज अझ गहिरो सुनिन्थ्यो । कहिलेकाहीँ लाग्थ्यो, नदी बोलिरहेकी छिन् । कहिलेकाहीँ लाग्थ्यो, ऊ रातभरि पहाडसँग कुरा गरेर बिहान हामीलाई आफ्नो कथा सुनाउन आइपुगेकी छिन् ।

मेरो बाल्यकाल नदिकै किनारमा बित्यो । स्कुल जाने बाटो मेरो लागि बाटो मात्र थिएन । त्यो एउटा लामो चित्र थियो—हरिया पहाड, तिनका भित्तामा टाँसिएका साना घरहरू, घाम लाग्दा सुनझैँ चम्किने खेतका गराहरू, टाढा निलो आकाशमुनि सेता हिमाल र तल गहिराइमा आफ्नै बाटो खोज्दै बगिरहने भोटेकोशी नदी । स्कुलबाट फर्कंदा म प्रायः बाटो बिर्सन्थेँ र नदीतिर हेर्दै रोकिएर बस्थेँ । कहिलेकाहीँ पानीमाथि उडिरहेका सेता बकुल्ला हेर्थेँ, कहिले पुलमा बिस्तारै हिँडिरहेका मानिसहरू हेर्थें । कहिलेकाहीँ बादल पहाडको काँधमा अड्किएको हुन्थ्यो । टाढाको हिमाल यति सफा देखिन्थ्यो कि हात बढाएर छोइदिऊँजस्तो लाग्थ्यो ।

मलाई त्यतिबेला लाग्थ्यो—स्वर्ग यस्तै नै होला । गर्मीका दिनमा स्कुल छुटेपछि हामी साथीहरू नदीमा पौडी खेल्न जान्थ्यौँ । झोला ढुङ्गामा राखिन्थ्यो । जुत्ता खोलिन्थ्यो । कोही लुगा फुकालेर किनारमा राख्थे, कोही भिजेकै लुगामा पानीमा हामफाल्थे । हामी घन्टौँ खेल्थ्यौँ, कहिलेकाहीँ भिजेका कपडा शरीरमै सुक्थे । कसैलाई लाज लाग्दैनथ्यो । कसैलाई डर लाग्दैनथ्यो । नदी हाम्रो लागि खेल्ने ठाउँ मात्र थिएन, उसले गाउँका सबै बालबालिकालाई एकअर्कासँग नजिक बनाएको थियो र आत्मीयता बढाएको थियो । धनी–गरिब, ठूलो–सानो, जातपात अनि कुन घरको बच्चा भन्ने कुरा नदीमा पसेपछि हराउँथ्यो ।

हामी सबै पानीमा एउटै थियौँ । हामीले नदीलाई विश्वास गरेका थियौँ । सायद त्यो विश्वास हाम्रो बाल्यकालको सबैभन्दा सुन्दर भूल थियो । मेरो दाइ इन्जिनियर हुनुहुन्थ्यो । इन्जिनियरिङ सकेपछि उहाँले हाइड्रोपावर क्षेत्रमा काम गर्न थाल्नुभयो । साथीहरू एकपछि अर्को गर्दै विदेश जान थाले । एकजना नजिकको आफन्त त अस्ट्रेलिया नै पुगेका थिए । ‘तिमी पनि आऊ’ उनी मलाई पनि धेरैपटक भन्ने गर्थे । दाइलाई पनि सबैले विदेश जान सल्लाह दिन्थे । ‘इन्जिनियर भएर नेपालमा के गर्छौ ? त्यहाँ के स्कोप छ र भन्थे ?

दाइ हाँस्नुहुन्थ्यो । उहाँले अन्ततः एउटा वाक्य रोज्नुभयो—‘सबै विदेश गएर देश कसले बनाउँछ ?’ मलाई दाइको त्यो कुरा त्यतिबेला ठूलो आदर्शवादजस्तो लाग्थ्यो । कहिलेकाहीँ जिस्क्याउँथेँ—‘देश तपाई एक्लैले बनाउने हो र ?’ उहाँ मेरो टाउकोमा हात राखेर भन्नुहुन्थ्यो—‘एक्लैले होइन, कसैले त सुरु गर्नुपर्छ नि ।’
उहाँसँग विदेश जाने अवसर थियो तर बुबाआमालाई छोडेर जाने मन उहाँमा थिएन । आफ्नै देशमा केही गर्ने, आफ्नै नदी र पहाडमा आफ्नो सीप लगाउने उहाँको सपना थियो । त्यही नदी, जसलाई म खेल्ने ठाउँ ठान्थेँ, उहाँ भविष्यको उज्यालो देख्ने ठाउँ ठान्नुहुन्थ्यो । हामी दुवैले एउटै नदीलाई फरक आँखाले हेरेका रहेछौं । बुबा र आमाको संसार पनि फरक थियो । बुबा टाढासम्म सोच्नुहुन्थ्यो ।

आमा नजिकका चिजहरूमा संसार देख्नुहुन्थ्यो । एक साँझ हामी सबै घरको बरन्डामा बसेका थियौँ । तल नदी बगिरहेको थियो । आकाशमा बादल लागेको थियो । बुबाले भन्नुभयो—‘यो पृथ्वीले अब मानिसको हिसाब माग्न थालेको छ ।’ मैले सोधेँ— कस्तो हिसाब ? बुबाले मेरो टाउको मुसार्दै भन्नुभयो—‘हामीले पृथ्वीबाट के लियौँ, त्यसको ।’
उहालेँ टाढाको पहाडतिर हेर्नुभयो र भन्नुभयो ‘ठूला विकसित देशहरूले दशकौँसम्म पृथ्वीका स्रोतको अत्यधिक दोहन गरे । कोइला, तेल, ग्यास जलाए । उद्योग बढाए । धुवाँ आकाशमा छोडे, कार्बन बढ्यो । पृथ्वी त एउटै हो नि तर त्यसको मूल्य सबैले बराबर तिरेका छैनन् । हामीले धेरै कम नगन्य प्रदूषण गरेका छौँ, तर ग्लोबल वार्मिङको असर भने हाम्रो हिमाल, हाम्रो पानी, हाम्रो बस्तीले भोगिरहेको छ ।’

आमा चिया हाल्दै हुनुहुन्थ्यो । उहाँले बिस्तारै भन्नुभयो— ‘त्यो कुरा ठीक हो तर अरूलाई दोष दिएर मात्र हामी पन्छिन कहाँ पाउँछौँ र ? बुबाले आमातिर हेर्नुभयो । आमाले भन्नुभयो –‘हामीले नदीलाई आमा भन्यौँ । गंगा, जमुना, नर्बदा भनेर देवी देवताका नामले पुकार्यौ । हिमाललाई देवता मान्यौँ, पूजा गर्यौ, अघ्र्य चढायौँ तर नदीमा फोहोर पनि हामीले नै फाल्यौँ । ढल पनि हामीले नै मिसायौँ । खोलाको बाटो छेकेर घर बनायौँ । सडक बनाउने नाममा जंगल फडानी गर्यौ । पहाड चिरेर बाटो निकाल्यौँ । प्रकृतिले आफ्नो बाटो खोज्दा हामीले उसलाई रिसाएको मात्र भन्यौँ ।’

बुबा मुस्कुराउनुभयो र भन्नुभयो ‘तिम्रो कुरा पनि ठीक छ ।’ र फेरि बुबाले थप्नुभयो ‘प्रकृतिलाई पूजा गर्ने हो भने उसको शरीरलाई पनि सम्मान गर्नुपर्छ ।’ आमाले भन्नुभयो– ‘फूल चढाएरमात्र नदी सफा हुँदैन ।’ दाइले चिया उठाउँदै भन्नुभयो—‘बुबा संसारको हिसाब गर्नुहुन्छ, आमा आफ्नै आँगनको ।’ बुबा हाँस्नुभयो । दाइले नदीतिर हेर्नुभयो र भन्नुभयो ‘म दुवैको हिसाब मिलाउन खोज्छु ।’ हामी सबै हाँस्यौँ । त्यो हाँसो अहिले मेरो स्मृतिको सबैभन्दा उज्यालो कुनामा छ । त्यसवर्ष मानिसहरू तीर्थयात्राका कुरा गरिरहेका थिए । मानसरोवर जानेहरू, गोसाइँकुण्ड जानेहरू, बाटो लागेका यात्रुहरुको चहलपहल थियो । तर आकाशको रङ फेरिँदै थियो । मलाई थाहा थिएन, प्रकृतिले कहिलेकाहीँ मानिसको भाषाभन्दा पहिले नै आफ्नो चेतावनी दिन्छ । त्यो दिन म स्कुलमै थिएँ । प्रिन्सिपलले झ्यालबाट बाहिर हेर्नुभयो । केही क्षण उहाँ स्थिर रहनुभयो । अनि अचानक भन्नुभयो—‘सबै विद्यार्थी उठ ।’ हामीले कारण सोध्न पाएनौँ । ‘झोला छोड । माथिल्लो डाँडातिर जाऊँ, अहिले नै हामीसँग समय घेरै कम छ ’–प्रिन्सिपलले भन्नुभयो । उहाँको आवाजमा त्यस्तो डर थियो, जुन हामीले उहाँमा कहिल्यै देखेका थिएनौँ । हामी दौडियौँ । त्यसपछि हामीले आवाज सुन्यौँ । पहिले टाढाबाट आएको गर्जन । पछि पृथ्वी फुटेजस्तो आवाज आयो ।

कोशी आफ्नो पुरानो शरीरमा थिएन । पानीसँगै माटो,चट्टान, रूख थिए । बरफ र ढुङ्गाका टुक्राहरू अनि बगाएर ल्याएका घरहरू थिए । सबै मिसिएर एउटा अकल्पनीय वेग बनेको थियो । हामी डाँडामा पुग्यौँ । मैले तल हेरेँ । मेरो गाउँ हराउँदै थियो । मेरै आँखासामु त्यो क्षण आउँदा म ‘आमा’ भन्दै कराउन चाहन्थेँ तर आवाज निस्केन । ‘बुबा’ भन्न खोज्दा पनि घाँटी बन्द भयो । ‘भाई’ भन्न खोज्दा हावामात्रै आयो । त्यो दिनपछि संसार दुई भागमा बाँडियो—बाढीभन्दा पहिले र बाढीपछि । बाढीअघि मेरो घर राम्रो र संग्लो थियो । बाढीपछि घरको ठाउँमा माटो ,गेग्रान र भग्नावशेसहरूमात्रै थिए । बाढीअघि हाम्रो आँगन थियो । बाढीपछि चट्टान थुप्रिएको थियो । बाढीअघि बजार थियो । बाढीपछि भग्नावशेष ।

सडकहरू थिएनन् । पुलहरू थिएनन् । झोलुङ्गे पुलहरू, जसले दुई किनारालाई जोड्थे, कतै टुटेका तारजस्ता हावामा झुन्डिएका थिए । सरकारी कार्यालयहरू थिएनन् । बिजुलीका संरचनाहरू भत्किएका थिए । पुराना बस्तीहरू, जसका गल्लीहरूमा मानिसहरूको पुस्तौँका पाइला थिए ती त पूरै नामनिशानविहीन भएका थिए ।
सबैभन्दा डरलाग्दो कुरा त्यहाँ शान्ति थियो । यस्तो शान्ति, जसमा हाँसोको कुनै अंश थिएन । एक किसिमको मूर्दा शान्ति । बुबा, आमा र भाईलाई घरसँगै बगाएर लग्यो भने दाइको नाम बेपत्ताहरूको सूचीमा लेखिएको थियो । ‘बेपत्ता’ त्यो शब्द मैले जीवनमा त्यति निर्दयी अर्को शब्द भेटेको छैन ।

मृत्युले कम्तीमा अन्तिम सत्य दिन्छ । बेपत्ताले आशा र शोकलाई एउटै कोठामा राख्छ । कहिलेकाहीँ म सोच्थेँ—दाइ कुनै सुरुङभित्र हुनुहुन्छ होला । कुनै ढुङ्गामुनि अड्किनुभएको होला । सायद उहाँ अझै कसैलाई बचाउने प्रयास गर्दै हुनुहुन्छ हेला । सायद उहाँले हेल्मेट लगाएर मलाई सम्झिरहनुभएको होला । अनि अर्को आवाज आउँथ्यो— सायद उहाँ अब हुनुहुन्न । म त्यो दोस्रो आवाजलाई स्वीकार गर्न सक्दिनथेँ त्यसैले दाइ मेरो लागि मरेको मान्छे होइन, उहाँ नफर्किएको मान्छे हो ।
म बाँच्नु पनि एउटा संयोग थियो । त्यो दिन म घरमा भएको भए ? यो प्रश्न मेरो जीवनको सबैभन्दा लामो छाया बनेर हिँडिरहेको छ । प्रिन्सिपलको त्यो एउटा निर्णय—केही मिनेटको हिचकिचाहट नभएको निर्णयले हामी विद्यार्थीहरूलाई माथि डाँडामा पु¥यायो । कहिलेकाहीँ म उहाँलाई सम्झेर सोच्छु ।

मानिसले अरूको जीवन बचाएको कुरा आफैँलाई कति ठूलोलाग्दो हो ? सायद उहाँका लागि त्यो कर्तव्य थियो । जसरी नुवाकोटको एक विद्यालयमा भदौ १० गते रसुवाको भोटेकोशीमा बाढी जाँदा प्रधानाध्यापकले विद्यार्थीलाई स्कुलबाट खेदाएर बचाए । खेदाउनु राम्रो कुरा होइन तर नदेखाएको भए त्यहाँको अवस्था के हुन्थ्यो कल्पना पनि गर्न सकिँदैनथ्यो । तर मेरो लागि ? उहाँको त्यो निर्णय मेरो जीवन र मेरो परिवारको मृत्युबीचको अन्तिम पर्खाल थियो । त्यसैले कहिलेकाहीँ म आफूलाई भाग्यमानी भन्न खोज्छु । तर तुरुन्तै अर्को प्रश्न उठ्छ— कसरी भाग्यमानी, जब मेरो सम्पूर्ण संसार नै हरायो ? मसँग जीवन बाँकी थियो । तर जीवनभित्रका मानिसहरू थिएनन् । केही समयपछि म आफन्तको घरमा बस्न थालेँ । मेरो कोठामा एउटा झ्याल छ । त्यहाँबाट नदी देखिँदैन । पहिले मलाई नदी नदेख्दा बेचैनी हुन्थ्यो । पछि बुझें—कहिलेकाहीँ कुनै दृश्यबाट टाढा हुनु भनेको त्यसलाई बिर्सनु होइन । त्यसलाई आफूभित्र राख्नु हो ।

म अहिले पनि बिहान नदी सम्झिन्छु । त्यो स्कुल सम्झिन्छु । साथीहरू सम्झिन्छु । भिजेको कपडा सम्झिन्छु । ढुङ्गामाथि राखेको झोला सम्झिन्छु । आमाको गाली सम्झिन्छु । बुबाको कुरा सम्झिन्छु । दाइको हाँसो सम्झिन्छु । भाइ सम्झिन्छु र ती सबै सम्झनाहरू एकअर्कासँग मिसिएर मेरो नयाँ घर बनेका छन् भन्ने लाग्छ । एकदिन म फेरि कोशीको किनारमा पुगेँ । नदी पहिलेजस्तै बगिरहेको थियो तर म पहिलेकी म थिइनँ । मैले पानीतिर हेरेँ । नदी मौन थियो तर पनि नदीलाई भने –‘हामी तिमीमाथि पौडी खेल्थ्यौँ, हामीले तिमीलाई आफ्नो घर ठानेका थियौं ।’ नदी केही नबोली बगिरहयो ।

त्यसपछि मलाई आमाको कुरा याद आयो । नदीलाई देवी भनेर पूजा गरेर मात्र पुग्दैन भन्ने कुरा सम्झिएँ । बुबाको कुरा सम्झिएँ, जसले पृथ्वीलाई धेरै दोहन ग¥यो, उसले त्यसको मूल्यको ठूलो हिस्सा बोक्नुपर्छ भनेको याद आयो । दाइको कुरा सम्झिएँ । कसैले त देश बनाउन सुरु गर्नुपर्छ भनेको सम्झें र मैले बुझें यी तीनवटै कुरा छुट्टाछुट्टै होइनन् । पृथ्वीको न्याय खोज्नु पनि आवश्यक छ र आफ्नो आँगन सफा राख्नु पनि त्यत्तिकै महत्वपूर्ण छ । विकास गर्नु पर्छ तर विकासको नाममा नदीको स्वास बन्द गर्रेर होइन । प्रकृतिबाट लिनु पनि पर्छ । तर उसलाई फर्काएर केही दिनु पनि पर्छ । म अझै कहिलेकाहीँ नदीसँग रिसाउँछु, त्यो स्वाभाविक हो । मैले मेरो परिवार गुमाएको ठाउँलाई कसरी पूर्णरूपमा क्षमा गर्न सकूँ ? तर म नदीलाई मात्र दोष दिन पनि सक्दिनँ । किनकि नदीभन्दा धेरै ठूलो प्रश्न मेरो अगाडि छ—‘हामीले पृथ्वीलाई कति बुझ्यौँ ? हामीले विकासलाई कति बुझ्यौँ ? हामीले प्रकृतिलाई पूजा गर्दा उसको शरीरलाई किन बचाउन सकेनौँ ? हामीले जलवायु परिवर्तनको कुरा गर्दा आफ्नै गाउँको सानो खोलाको बाटो किन थुन्यौँ ?

यी प्रश्नहरूको उत्तर एउटै मान्छे वा एउटै देशसँग छैन । सायद त्यसैले त्यो बाढी मेरो लागि केवल विपत्ति रहेन । त्यो एउटा प्रश्न बनेर आयो र त्यो प्रश्न अझै मेरो मानस पटलमा ताजै छ । आज म कहिलेकाहीँ नदीको किनारमा बालबालिकाहरूलाई खेलिरहेको देख्छु । म उनीहरूलाई रोक्न चाहन्छु, फेरि हिजोको आफैंलाई सम्झेर रोक्दिनँ किनकि मलाई थाहा छ—बाल्यकाललाई नदी चाहिन्छ ।
नदीसँग डराएरमात्र प्रकृति जोगिँदैन । प्रकृतिलाई बुझ्नुपर्छ ।उसको बाटो खुला राख्नुपर्छ । उसलाई फोहोर बनाउनु हुँदैन । उसलाई केवल स्रोत ठान्न हुँदैन । नदी बिजुलीको स्रोत हो, सिँचाइको आधार हो । यात्राको बाटो हो तर त्योभन्दा पहिले— नदी नदी नै हो । उसको आफ्नै अस्तित्व छ । उसको आफ्नै स्मृति छ । उसको आफ्नै बाटो छ ।
साँझ पर्दैछ म नदीको किनारबाट फर्कन लाग्छु पछाडि हेर्छु । सूर्यको अन्तिम उज्यालो पानीमा परेको छ एकछिन फेरि पुरानो गाउँ देखिन्छ । त्यहाँ हाम्रो घर छ । आमा भान्साबाट बोलाइरहनुभएको छ । बुबा बरन्डामा बसिरहनुभएको छ । दाइ किताब पल्टाइरहनुभएको छ । भाइ ढोकामा उभिएर कराइरहेको छ—दिदी, चकलेट ल्यायौ ?” म मुस्कुराउँछु आँखा रसाउँछन् । त्यो दृश्य केही क्षण रहन्छ, फेरि हराउँछ । मलाई थाहा छ—त्यो मेरो स्मृति हो । तर स्मृति पनि त एउटा घर हो । त्यो घरलाई कुनै बाढीले बगाउन सक्दैन म फर्किन्छु । नदी पछाडि बगिरहन्छ । उसले मेरो घर लग्यो । मेरो बुबा लग्यो । मेरी आमा लग्यो । मेरो भाइ लग्यो । मेरो बाल्यकालको ठूलो हिस्सा लग्यो र मेरो दाइलाई कहाँ लग्यो—आजसम्म थाहा छैन तर उसले एउटा कुरा लैजान सकेन । उनीहरूलाई सम्झने मेरो क्षमता त्यसैले म हिँडिरहेकी छु ।

मेरो पाइतालामा मेरो आफ्नै छायाँ छ । मेरो हृदयभित्र एउटा पूरै गाउँ छ । म अब केवल एउटी बाँचेकी बालिका होइन म हराएको घरको साक्षी हुँ । हराएको परिवारको आवाज हुँ । बेपत्ता दाइको प्रतीक्षा हुँ र त्यो नदीको किनारमा बाँचेको एउटा बाल्यकाल हुँ । नदीले मलाई बगाएर लगेन तर उसले मलाई पहिलेकै म भएर बाँच्न पनि दिएन ।
सायद त्यसैले आज म आफूलाई एउटा नामले मात्र चिन्छु—नदीले बगाएर नलगेको मान्छे ।

(कपन काठमाडौ निवासी गौतम अहिले डेनमार्कमा बस्छन्)
(समग्र विचारडटकमबाट साभार)

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्