निवर्तमान मुख्यमन्त्री नै संघीयताप्रति चिन्तित
काठमाडौं । कर्णाली प्रदेशका निवर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीले संघीयतालाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न नसकिएकोमा चिन्ता व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका शाहीले संघीयता कार्यान्वयनका लागि संविधानअनुसार अधिकार प्रत्यायोजन हुने गरी कानुन बन्नुपर्ने बताएका छन् । शुक्रबार पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले भने ‘संघीयताको विषयमा पार्टीको धारणा के हो ?’ । प्रदेशका सभापति, पूर्वमुख्यमन्त्री र वर्तमान मुख्यमन्त्रीहरु समेतले यो विषयमा निरन्तर ध्यानाकर्षण गर्दै आएको भन्दै उनले बैठकमा प्रश्न गरेका थिए । नेता शाहीले संविधान कार्यान्वयन गर्न त्यस अनुसारको कानुन बनाउन आवश्यक रहेकोमा जोड दिए ।
‘यदि संघीयता हाम्रो पार्टीलाई नै मन परेको छैन भने यसलाई हटाइदिऔं, बिनाकामको त्यसै मन्त्री भनेको छ, मुख्यमन्त्री भनेको छ’ उनी भन्छन्, ‘होइन भने कानुनमा संविधानले दिएको अधिकार प्राप्त गर्न र गराउनेतिर हामी अगाडि बढ्नुपर्छ ।’ प्रदेश सरकारले आफ्नो भवनसमेत बनाउन सक्ने कानुनी आधार नरहेको उल्लेख गर्दै उनले अधिकार नदिएर संघीयता भनिरहन नहुने बताए ।

नेपाली कांग्रेसको कर्णाली प्रदेशको संसदीय दलका नेतासमेत रहेका शाहीले आफ्नो कार्यकालमा केही सुधारका अभियान अघि बढाएका थिए । उनले राजनीतिक नेतृत्व इमानदार भए कर्मचारीलाई पनि त्यही अनुसार परिचालन गर्न सजिलो हुने बताउँदै आएका छन् । २०७० सालमा हुम्लाबाट निर्वाचित संविधानसभा सदस्यसमेत रहेका उनी केन्द्रीय सरकारका पूर्वमन्त्रीसमेत हुन् ।

