प्रभुमाथि पनि प्रधानमन्त्रीका प्रश्नैप्रश्न
काठमाडौं, फाल्गुण २५ । प्रधानमन्त्री केपी शर्मा ओली आफुलाई सोधिएको अधिकांश प्रश्नको जवाफ दिँदैनन् । प्रधानमन्त्री भएपछि कतिपय प्रश्नको जवाफ दिनुपर्ने उनको कर्तव्य भए पनि ती प्रश्नहरुको जवाफ दिनुको सट्टा उल्टै प्रश्न गर्दै आफूलाई श्रेष्ठ देखाउने प्रयास गर्छन् ।
फाल्गुणको पहिलो साता प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम रहेको थियो । प्रतिनिधिसभाको नियमावलीमा भएको व्यवस्था अनुसार जुनसुकै प्रधानमन्त्रीले पनि सांसदका प्रश्नको जवाफ दिनुपर्ने हुन्छ । आम जनता पार्टी (आजपा) का सांसद तथा पूर्वमन्त्री प्रभु साहले सोधेको प्रश्नमा ओलीले उल्टै प्रश्न गरे । प्रभुको प्रश्न गलत भएको मात्रै भनेनन ओलीले उल्टै त्यस्तो प्रश्न नगर्न सम्झाउन पनि थाले । ओलीको जवाफ चित्त नबुझेपछि पुनः प्रश्न गर्न तम्सिएका प्रभुलाई सभामुखले अनुमति दिएनन् । प्रभुले समसामयिक विषयमा प्रश्न गरेका थिए ।
पहिले नै प्रश्न पठाएर गरिने प्रश्नोत्तरमा प्रधानमन्त्रीले जिम्मेवारी वहन गर्दै जवाफ दिनुपर्नेमा टारटुर गरेर प्रधानमन्त्री पदको गरिमामाथि आफैं प्रश्नचिन्ह उठाएका थिए । सांसद साहले भनें आफ्नो प्रश्न जायज भएको भन्दै प्रधानमन्त्रीले जवाफ नदिएकोमा ओलीको कार्यशैली र स्वभावको आलोचना गरेका छन् ।

