सक्रिय बन्दै शेखर, दिन गन्दै देउवा
काठमाडौं, फाल्गुण २५ । नेपाली कांग्रेसका नेता शेखर कोइराला अहिले देशव्यापी दौडाहामा छन् । विभिन्न जिल्लामा आफूपक्षीय नेता तथा कार्यकर्ताहरुको भेला गर्नेदेखि लिएर उनी सामाजिक गतिविधिमा पनि उति नै सक्रिय बन्दै आएका छन् ।
उनी जहाँ पनि राजनीतिक भेला र कुरामात्रै गर्दैनन, मानिसका सामान्य समस्यामा पनि सक्रियता देखाउने गरेका छन् । पार्टीका कार्यकर्ता, उनीहरुको परिवारका कसैको निधनमा होस् वा अन्य यस्तै दुःखको अवस्थामा पुुुुुुग्ने गरेका उनको स्वभावलाई धेरैले अर्थपूर्ण ढंगले हेरेका छन् । कोइराला हिजो झापामा भएको एक कार्यक्रममा सहभागी थिए । पार्टीको महाधिवेशन कहिले हुने भन्ने टुंगो नलागे पनि उनी आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुुने र जित्ने दाबी गर्दै आएका छन् । कांग्रेसको २०७८ मंसिरमा भएको गत महाधिवेशनमा पनि कोइराला सभापतिको उम्मेदवार बनेका थिए । शेरबहादुुर देउवाले सभापति जित्दा कोइराला निकटतम प्रतिस्पर्धी रहेका थिए । शेखर कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको सिद्धान्तबाट नै आफूअघि बढेकाले उनको सच्चा अनुुयायी भन्दै आएका छन् । कांग्रेसमा विपी कोइरालालाई एक आदर्श पुुरुषका रुपमा लिइदै आइएको छ । शेखरले कोइरालाको तर्फबाट आगामी महाधिवेशनमा आफूले नै नेतृत्व गर्ने दाबी गर्दै आएका छन् । शेखर विपी कोइरालाका भतिजा हुन् । कांग्रेसका अर्का नेता तथा पूर्व महामन्त्री सशांक कोइराला भनें विपीका छोरा हुन् ।
आउँदो महाधिवेशनमा आफू नै सभापतिको उम्मेदवार भएको भन्दै सशांकले पनि खुलेआम भनिरहेका छन् । कोइराला परिवारकै अर्की नेतृ सुजाता कोइरालाले भनें यसबारे अहिले केही बोलेकी छैनन् । गत महाधिवेशनमा सुजाता उपसभापतिमा पराजित भएकी थिइन् । निवर्तमान महामन्त्री हुँदै गर्दा भएको महाधिवेशनमा सशांक केन्द्रीय सदस्यको मात्रै उम्मेदवार भएका थिए । महामन्त्री हुँदा पनि खासै कसैसँग मत नमाग्दा पनि सशांकले राम्रो मतले महामन्त्री जितेका थिए । सशांकलाई विपी कोइरालाको छोरो भएकै आधारमा मत आउँछ भन्ने एक प्रकारको तर्क रहेको छ । अहिले सशांक र शेखर दबैुजना प्रतक्ष्य निर्वाचित प्रतिनिधिसभाका सांसद हुन् भनें सुजाताले मोरङ–२ बाट नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेलसँग नराम्रो पराजय भोग्नुप¥यो । कांग्रेसको महाधिवेशन भएको मंसिरमा ४ वर्ष पूरा हुँदैछ । विधान अनुसार ४ वर्षमा महाधिवेशन गर्नुपर्ने हो तर नेतृत्वले विभिन्न कारण देखाउँदै सधैं महाधिवेशन धकेल्दै आएका छन् । शेखरले भनें सभापति देउवाले महाधिवेशन गर्न चासो नदेखाएको भन्दै आपत्ति जनाउँदै आएका छन् ।
एमाले र कांग्रेसबीच भएको सहमतिअनुसार २०८३ को असारमा देउवा प्रधानमन्त्री बन्ने छन् । प्रधानमन्त्री भएपछिमात्रै महाधिवेशन गर्ने सोचमा देउवा रहेको उनीनिकटले बताउँदै आएका छन् । कांग्रेसको विधानअनुसार अब देउवा सभापतिको उम्मेदवार हुन पाउने छैनन् । उनले सभापतिमा कसलाई अघि सार्छन् भन्ने टुंगो छैन । परराष्ट्रमन्त्रीसमेत रहेकी पत्नी आरजु राणालाई कुनै पदमा व्यवस्थापन गर्ने दाउमा देउवा रहेको बताइएको छ । देउवाले जसलाई समर्थन गर्छन् उसले महाधिवेशन जित्ने सम्भावना भएकाले देउवाको रणनीति र राजनीतिलाई निकै अर्थपूर्ण रुपले हेरिएको छ ।

