प्रधानमन्त्रीले पूर्वराजालाई दोषी देखाए, पूर्वराजा चुपचाप
काठमाडौं, चैत्र २४ । चैत्र १५ गते काठमाडांैको तीनकुनेमा भएको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाह मुख्य दोषी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।.
प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै ओलीले आन्दोलनले अराजकता सिर्जना गरेको बताएका छन् । राजा ल्याउने भन्दै सुरु भएको आन्दोलनले उग्ररुप लिएपछि आमसभा नै बिथोलिएको थियो । सुरुदेखि नै भीँड अराजक र अस्थिरतातर्फ उन्मुख भएकाले पनि आन्दोलन कसैको नियन्त्रमा आउन सकेको थिएन । आन्दोलनमा परी एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको तस्विर खिच्ने क्रममा आगलागीमा परी मृत्यु भएको छ भनें काठमाडौंको कीर्तिपुर निवासी सविन महर्जनले पनि ज्यान गुमाएका छन् । नेपाल पत्रकार महासंघले पत्रकार रजकको मृत्युको बारेमा छानबिन गरिनुपर्ने र दोषीलाई कारबाही गरिनुपर्ने माग उठाइरहेको छ । अन्य केही पत्रकार पनि घाइते भएका छन् । आन्दोलनको सुरुमा नै दुर्गा प्रसाइले प्रहरीलाई पेलेर गाडी कुदाउँदा अवस्था भयानक बन्दै गएको थियो । प्रसाइले प्रहरीलाई पेलेर गाडी कुदाएको र प्रहरीले छेक्न खोज्दा पनि प्रसाई झन् आक्रामक भएको भिडियो पनि सार्वजनिक भएर ‘भाइरल’ भएको छ । प्रसाई भनें त्यो घटनापछि बेपत्ता छन् । प्रहरीले प्रसाइलाई पक्राउ गर्ने तयारी गरिरहेको छ ।
आन्दोलनको अघिल्लो दिन प्रसाइले पूर्वराजा ज्ञानेन्द्रसँग भेट गरेका थिए । ज्ञानेन्दलाई भेटेपछि उनले आन्दोलनको जिम्मा लिएका थिए । प्रसाई राजा फर्काउने अभियानमा केही समयदेखि सक्रिय रहेका छन् । प्रसाइकै नेतृत्वमा आन्दोलन भएको भन्दै धेरैले उनले नै घटनाको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने भन्दै तर्क पनि गरेका छन् । प्रसाइले नेतृत्व गरेको त्यो आन्दोलनमा धेरै धनको क्षति भएको थियो भनें मानिसको व्यक्तिगत सम्पत्तिमा पनि क्षति पुगेको थियो । घर क्षति भएकाहरुले उचित क्षतिपूर्तिका लागि गुहार गर्दै आए पनि उनीहरुलाई कसले क्षतिपूति दिने भन्ने टुंगो छैन । नवराज सुवेदी संयोजक भएर त्यो आन्दोलनको कार्यक्रम भए पनि सुवेदी भूमिकाविहीनजस्तै देखिएका थिए । आन्दोलनका क्रममा कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोष्ट दैनिकमा पनि क्षति भएको थियो । आन्दोलनकारीले कोटेश्वरको भाटभटेनीमा समेत गएर लुटपाट गरेका थिए । यो घटनाले आन्दोलनकारीहरु सधैं आलोचित बनेका छन् ।
प्रधानमन्त्री ओलीले भनें राजतन्त्र कल्पना पनि गर्न नसकिने बताएका छन् । उनले राजतन्त्रको उदय सम्भव नभएकाले त्यो आन्दोलनको औचित्य नभएको हुँदा त्यतातर्फ नलाग्नसमेत सबैलाई आग्ह गरेका छन् । यस विषयमा पूर्वराजा ज्ञानेन्द्र भनें चुपचाप छन् । उनले यो घटनापछि कुनै प्रतिक्रियासमेत दिएका छैनन् ।

