नेपाल उद्योग व्यापार महासंघद्वारा रक्तदान सम्पन्न, बाटो हिँडेकालाई पनि रक्तदान गर्न आग्रह
काठमाडौ, साउन ११ं । नेपाल उद्योग व्यापार महासंघले स्थापनाको चौथो वर्षको अवसरमा काठमाडौंमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
हालै चावहिलमा आयोजना गरिएको रक्तदानमा ५७ पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक तथा महासंघका कोषाध्यक्ष टीआर भण्डारी (शंकर) ले बताए । महासंघका महासचिव खिमनारायण पराजुलीले स्थापना दिवसको अवसरमा विभिन्न ठाउँमा विविध कार्यक्रम गरिएको र रक्तदान अन्तिम कार्यक्रम भएको बताए । उनले महासंघले सामाजिक काम पनि गर्दै आएको जनाएका छन् । उनले प्रदेश समिति र अन्य समितिले पनि यसै अवसरमा अनाथालयमा रासन वितरण गर्नुका साथै विभिन्न ठाउँमा फलफूल वितरण गरेको पनि जनाए ।
महासंघका उपाध्यक्ष यज्ञप्रसाद पन्तले महासंघ स्थापनाको उद्येश्य अनुसार नै सक्रिय रहेको बताए । उनले समाजमा थोरै भए पनि योगदान दिन सकियोस् भनेर महासंघलाई छाता संगठनका रुपमा विकास गरिएको बताए । पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का प्रतिनिधिसभाका सांसद वर्षमान पुन ‘अनन्त’ प्रमुख अतिथि र दोलखाबाट निर्वाचित नेकपा (माओवादी केन्द्र) कै प्रतिनिधिसभाका सांसद गंगा कार्की (विश्व) रक्तदान कार्यक्रममा विशेष अतिथि रहेका थिए ।

महासंघकी उपमहासचिव गिता पनेरुले सामाजिक योगदानअन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको बताइन् । उनले महासंघले जनताको सरोकार राख्ने अन्य विषयमा पनि ध्यान दिँदै आएको बताइन् । आयोजकले बाटो हिँडेकालाई पनि रक्तदानको बारेमा जानकारी गराउँदै रक्तदान गर्न आग्रह गरेको थियो । ‘अहिले जताततै रगतको अभाव भएकाले नै रक्तदान कार्यक्रम गरेका हौं’ कार्यक्रम संयोजक भण्डारीले भने ।

महासंघका अध्यक्ष खिमलाल भण्डारीले महासंघले अहिलेसम्म सेवाको भावले काम गरेको स्पष्ट पारे । ‘महासंघले कुनै पनि स्वार्थ राखेर काम गर्दैन, समाजको र जनताको हित हुने गरी काम गर्नु नै हाम्रो उद्येश्य हो’ उनले भने ‘अहिलेसम्म जति गरिरहेका छौं त्यसमा सन्तुष्ट छौं, भोलिको दिनमा अन्य संघसंगठनलाई पनि यमैमा आबद्ध गर्ने र अझ व्यापक बनाउने प्रयास गर्दै आएका छौं ।’

