हलगोरु पाल्नेलाई मेलम्ची नगरपालिकाद्वारा ५ हजार रुपैंयाँ दिइयो
काठमाडौं, साउन ११ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले गत आर्थिक वर्षमा हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ ।
हलगोरु पाल्ने दुई सय ४० किसानलाई पाँच हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको नगरप्रमुख आइतमान तामाङले जानकारी दिए । पछिल्लो समय प्रविधियुक्त ट्याक्टर भित्रिने क्रम बढेपछि हलगोरु पाल्ने प्रचलन हट्दै गएको भन्दै प्रोत्साहन गरिएको नगरप्रमुख तामाङले बताए । ’खेत जोत्ने नयाँनयाँ प्रविधि आइरहेका छन्, जसले गोरु पाल्ने चलन नै लोप हुने अवस्था आउन सक्छ त्यसैकारण नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनको नीति लिएको हो’ नगरप्रमुख तामाङले भने ।
नगरपालिका कृषि विकास शाखाका प्रमुख अमरनाथ आचार्यले अनुदान रकमका लागि पशु बीमा गर्न आग्रह गरिएको बताए । यसरी बीमा भएका किसानलाई बैंक खातामार्फत र बीमा भएको तर बैंक खाता नभएका किसानलाई भरपाई गरेर रकम उपलब्ध गराइएको आचार्यले जानकारी दिए । यस कार्यक्रमले किसानलाई प्रोत्साहन मात्र नभई प्राङ्गारिक मल उत्पादन गरी माटो सुधार र जैविक विविधता संरक्षणमा समेत सुधार ल्याउने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले ‘मेलम्ची नगर सम्बृद्धिको आधार–कृषि, पर्यटन, उद्योग र पूर्वाधार’ भन्ने मूल नारा बनाई त्यसै अनुसार काम गर्दै आएको जनाएको छ ।

