काठमाडौं, चैत्र १४ । अमेरिका र क्यानडामा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना भएको ‘इन्टरनेशनल एण्ड ग्लोबल करिअर समिट २०२६’ आज काठमाडौंको नयाँ बानेश्वरमा रहेको एभरेष्ट होटलमा हुँदैछ ।
आयोजकले हिजो काठमाडौंमा पत्रकार सम्मेलन गरेर समिटबारे जानकारी गराएको थियो । आयोजकका अनुसार समिटमा ७ सयभन्दा बढी विद्यार्थी तथा अभिभावकको सहभागिता रहने अपेक्षा गरिएको छ । अर्बिट इन्टरनेशनल एजुकेशन र स्ट्र होल्डिङ्सको संयुक्त आयोजनामा, अमेरिकास्थित एमपावर फाइनान्सिङ कम्पनीको सहकार्यमा सञ्चालन भएको उक्त समिट बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने छ ।

समिटको मुख्य आकर्षणका रूपमा एमपावरका अन्तर्राष्ट्रिय विशेषज्ञहरूको सहभागिता रहने छ । उनीहरूले अमेरिका र क्यानडामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई बिनाधितो शैक्षिक ऋण, वित्तीय योजना, तथा अध्ययनपछिका अवसरबारे प्रत्यक्ष अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ । अर्बिट इन्टरनेशनलका अध्यक्ष प्रकाश पाण्डेले समिटले विद्यार्थी र अभिभावकलाई एकै स्थानमा विभिन्न कलेज, विषय र अध्ययन विकल्पबारे जानकारी प्राप्त गर्ने अवसर प्रदान गर्ने बताए । ‘विद्यार्थी र अभिभावकले आफ्नो रुचिअनुसारको विषय र कलेजबारे एकै ठाउँमा जानकारी पाउन सक्ने भएकाले यो समिट निकै महत्वपूर्ण हुने छ’ उनले भने । त्यस्तै, स्ट्र होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण अधिकारीले समिट केवल अध्ययनका विकल्पमा सीमित नभई भविष्यको रोजगारीसम्म केन्द्रित रहने स्पष्ट पारे । ‘समिटले विद्यार्थीलाई कुन देश र कलेज रोज्ने मात्र होइन, अध्ययनपछिको करिअर र रोजगारीका अवसरबारे पनि सचेत गराउने छ’ उनले भने ।

एमपावर फाइनान्सिङकी प्रतिनिधि क्लेयर अलमाण्डले अमेरिका र क्यानडामा स्नातकोत्तर अध्ययन गर्न चाहने विद्यार्थीका लागि उपयुक्त विषय छनोट गर्नसमेत समिट उपयोगी हुने बताइन् । ‘विद्यार्थीले कुन विषय रोज्दा भविष्यमा राम्रो अवसर पाउन सक्छ भन्ने बुझ्नका लागि पनि यो समिट महत्वपूर्ण छ’ उनले भनिन् । उनले बिनाधितो शैक्षिक ऋण उपलब्ध गराउँदा विद्यार्थीको शैक्षिक प्रदर्शनलाई प्रमुख आधार मानिने र अध्ययनपछिको रोजगारी सम्भावनालाई समेत ध्यानमा राखिने उल्लेख गरिन् ।

समिटमा विदेश अध्ययनसँग सम्बन्धित आर्थिक चुनौती, सुरक्षा, स्वास्थ्य बीमा, र विद्यार्थी जीवनशैली व्यवस्थापनजस्ता विषयमा विशेष सत्रहरू सञ्चालन गरिने छ । कार्यक्रमलाई थप आकर्षक बनाउन एमपावरले ‘आइसब्रेकर’ गतिविधि र ‘कहुट’ हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्नेछ, जहाँ सहभागीहरूले आकर्षक उपहार जित्न सक्नेछन् । प्रारम्भिक रूपमा सहभागी हुनेहरूलाई पावर बैंक र थर्मल टम्बलर प्रदान गरिने छ भने एकजना भाग्यशाली सहभागीले आईप्याड जित्ने अवसर पाउने छन् ।

विदेश अध्ययनको योजना बनाइरहेका नेपाली विद्यार्थी र अभिभावकका लागि समिट एक उपयोगी प्लेटफर्म बन्ने अपेक्षा आयोजकले गरेको छ ।