सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

पेशागत महासङ्घ नेपालले मनायो ३२ औं स्थापना दिवस

admin
admin

काठमाडौं, जेठ १२ । पेसागत महासङ्घ नेपाल राष्ट्रिय समितिले आफ्नो ३२औं स्थापना दिवस मनाएको छ ।
दिवसको अवसरमा हालै केन्द्रीय कार्यालय थापाथली काठमाडौंमा ‘मदन भण्डारी र ट्रेड युनियन अधिकार’ विषयक अन्तरक्रिया पनि गरिएको छ । कार्यक्रममा विभिन्न पेशागत तथा श्रमिक संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम पेसागत महासङ्घ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले वर्तमान समसामयिक राजनीतिक तथा श्रमिक अधिकारका विषयमा धारणा राखेका थिए । उनले वर्तमान सरकार तानाशाही शैलीमा अघि बढेकाले पेशागत संघसंगठन सचेत र जिम्मेवार बन्नुपर्ने बताए । उनले जननेता मदन भण्डारीको विचार र राजनीतिक दर्शन अहिलेको समयका लागि पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै उहाँले देखाएको मार्गअनुसार अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

त्यसैगरी महासङ्घका सल्लाहकार समिति संयोजक बाबुराम थापाले श्रमिक वर्गको हकहित सुनिश्चित गर्न संगठित आन्दोलन र वैचारिक स्पष्टता आवश्यक रहेको बताए । कार्यक्रममा महासङ्घमा आबद्ध विभिन्न संगठनका अध्यक्ष तथा प्रतिनिधिहरुले समेत ट्रेड युनियन आन्दोलन, श्रमिक अधिकार र वर्तमान चुनौतीका विषयमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए । उनीहरुले श्रमिकमैत्री नीति निर्माण र कार्यान्वयनमा जोड दिएका थिए । महासङ्घका महासचिव केदारप्रसाद देवकोटाले पछिल्लो परिस्थितिमा पेशाकर्मीलाई अझ संकट परिरहेकाले अधिकार रक्षाका लागि सबैबीच एकता र सहकार्य आवश्यक रहेको बताए । उनले आफ्नो अधिकारको लागि जस्तोसुकै आन्दोलन गर्नुपर्ने अवस्था आए पनि पछि हट्न नहुनेमा जोड दिए ।

महासङ्घका उपाध्यक्ष भोलानाथ पोखरेलले पेसागत तथा श्रमिक आन्दोलनलाई अझ सशक्त र एकताबद्ध बनाउन आवश्यक रहेको बताए । कार्यक्रममा सहभागी वक्ताहरुले मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद तथा श्रमिकमैत्री विचारधाराले आजको राजनीतिक र सामाजिक परिवेशमा समेत मार्गदर्शन गरिरहेको बताएका थिए । उनीहरुले बदलिँदो राजनीतिक अवस्थामा आफूहरु कसरी अघि बढ्ने भन्ने विषयमा वृहत् ढंगले छलफल गर्नुपर्ने बेला आएको बताए ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्