काठमाडौं,जेठ १० । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले पनि प्रधानमन्त्री बालेन्द्र साहलाई फकाउन सकेका छैनन् ।

केही दिनअघि सभामुखले प्रधानमन्त्रीलाई भेटेर प्रतिनिधिसभाको बैठकमा आइदिन अनुरोध गरेका थिए । विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री खोज्दै निरन्तररुपमा बैठक अवरोध गर्न थालेपछि सभामुखले प्रधानमन्त्रीलाई भेटेका हुन् । विपक्षीहरुको मुख्य माग भनेकै प्रधानमन्त्रीको संसदमा उपस्थिति रहेको थियो । सरकारको नीति तथा कार्यक्रम सुन्दासुन्दै अचानक उठेर हिँडेका प्रधानमन्त्रीको त्यसपछि आलोचना सुरु भएको छ । सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन पनि प्रधानमन्त्री आएनन् । प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरुको प्रश्नको जवाफ दिए ।

प्रधानमन्त्री संसदप्रति जिम्मेवार नभएको भनेर आलोचना भइरहेको बेला प्रधानमन्त्रीले भनें फेसबुकमा स्टाटस लेख्दै आफू देश निर्माणमा लागिरहेको सन्देश दिएका छन् । उनले संसदमा हुने गरेका छलफलले देश नबन्ने पनि भनेका छन् । सभामुखसँगको भेटमा पनि प्रधानमन्त्रीले उपयुक्त समयमा संसदमा आउने र सांसदको प्रश्नको जवाफ दिने बताएका थिए । सभामुख अर्याल पनि प्रधानमन्त्रीकै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुन् ।