काठमाडौं,जेठ १७ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाले धार्मिक स्थल तथा मठमन्दिर वरपर मासु तथा मदिराजन्य पदार्थ बिक्री नगर्न अनुरोध गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले जेठ ५ गते एक सूचना जारी गरी धार्मिक स्थलबाट कम्तीमा ३ सय मिटर वरिपरि मदिरा तथा मासुजन्य पदार्थ बिक्रीवितरण नगर्न ÷नगराउन सबैमा अनुरोध गरेका छन् । ‘सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र कार्यान्वयन नभएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने व्यवहोरासमेत सरोकारवालारुको जानकारीका लागि अनुरोध छ’ सूचनामा भनिएको छ । नगरपालिकाले मदिरा ऐन २०३१, सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने ) ऐन २०६८ तथा प्रचलित रितिसंस्कृति समेतलाई ध्यान दिई यो सूचना प्रकाशन गरेको जनाएको छ । बुढानीलकण्ठ मन्दिरसमेत रहेको यो नगरपालिका आफैंमा ऐतिहासिक र धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिँदै आएको छ ।