सामाजिक सुरक्षा भत्ताको प्रमाणपत्र नवीकरण गर्न बुढानीलकण्ठ नगरपालिकाको अनुरोध
काठमाडौं, साउन ३ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाले सामाजिक सुरक्षा भत्ताको परिचयपत्र नवीकरण गर्न अनुरोध गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले एक सूचना जारी गरी सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरुलाई साउन १ गतेदेखि असोज मसान्तसम्ममा सम्बन्धित वडा कार्यालयमा गई परिचयपत्र नवीकरण गर्न अनुरोध गरेका छन् । सूचनामा सो प्रमाणपत्र नवीकरणका लागि राष्ट्रिय परिचयपत्रो प्रतिलिपि, सामाजिक सुरक्षा भत्ताको परिचयपत्रको प्रतिलिपि आवश्यक पर्ने जनाइएको छ ।

सूचनामा म्यादभित्र परिचयपत्र नवीकरण नगर्ने लाभग्राहीको लगतकट्टा गरिने र भत्ता प्राप्त नहुने पनि जनाइएको छ । यस्तो अवस्थामा अन्य प्रक्रियाबाट फेरि लाभग्राही फारम भर्न सकिने पनि नगरपालिकाले उल्लेख गरेको छ । नगरपालिकाले ९० वर्षभन्दा माथिका लाभग्राहीलाई लाभग्राही सूचीमा सूचीकृत हुन राष्ट्रिय परिचयपत्र अनिवार्य नभएको पनि जनाएको छ ।
‘स्वच्छ, शान्त, समृद्ध, पर्यटकीय नगर बुढानीलकण्ठ’ मूल नारा बनाएर नगरपालिकाले काम गरिरहेको छ ।

