शुक्रबार, २६ भदौ २०८३
ब्रेकिङ न्युज
Breaking

व्यवसाय दर्ता गर्न हल्दीबारी गाउँपालिकाको अनुरोध

admin
admin

साउन २५ झापा । झापाको हल्दीबारी गाउँपालिकाले व्यावसाय दर्ता गरेर मात्रै सञ्चालन गर्न अनुरोध गरेको छ ।

बजार अनुगमनका क्रममा हल्दीबारी–४ को बडावारी क्षेत्रका २० भन्दा बढी किराना, हार्डवेयर, कपडा, खाजा घर तथा सैलुनमध्ये अधिकांश व्यवसाय बिनादर्ता तथा आवश्यक कानुनी कागजातबिनै सञ्चालन भइरहेको पाइएपछि गाउँपालिकाले यस्तो आग्रह गरेको हो । गत बुधबार अनुगमन गरेपछि गाउँपालिकाले त्यस्ता व्यवसायलाई आगामी २५ गतेभित्र गाउँपालिकामा दर्ता भई आवश्यक प्रक्रिया पूरा गरेर मात्र व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ । साथै मूल्यसूची, होल्डिङ बोर्ड, बिल÷रसिदलगायत अन्य आवश्यक कानुनी कागजातसमेत सोही अवधिभित्र गाउँपालिकामा पेस गर्न पनि निर्देशन दिएको छ ।

अनुगमन टोलीको नेतृत्व गरेकी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले बजारलाई व्यवस्थित बनाउने र उपभोक्ता अधिकारको संरक्षण गर्ने उद्देश्यले अनुगमन अभियानलाई निरन्तरता दिइने बताइन् । तोकिएको समयसीमाभित्र दर्ता तथा आवश्यक प्रक्रिया पूरा नगर्ने व्यवसायमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने गाउँपालिकाले जनाएको छ ।

उपाध्यक्ष मैनालीको नेतृत्वमा भएको अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, गाउँपालिकाका विभिन्न शाखा प्रमुख, सुरक्षाकर्मी, स्थानीय उद्योग वाणिज्य संघका प्रतिनिधिलगायतको सहभागिता थियो ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्