
अक्कल तामाङ
न्युयोर्क
विश्वकै सपनाको शहर मानिने Manhattan मा आयोजना हुन गइरहेको Nepal Day Parade 2026 नजिकिँदै जाँदा अमेरिकामा रहेका नेपाली समुदायबीच उत्साह, उमंग र तयारी तीव्र बन्दै गएको छ। नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) का सदस्य संस्थाहरू सहित विभिन्न जातीय, क्षेत्रीय, सामाजिक तथा व्यवसायिक संघ–संस्थाहरू आ–आफ्नो पहिचान र नेपाली राष्ट्रिय गौरव झल्किने प्रस्तुति सहित परेडमा सहभागी हुन अन्तिम तयारीमा जुटेका छन्।
हरेक वर्षझैं यस वर्ष पनि नेपाली कला, संस्कृति, भाषा, भेषभूषा, संगीत र राष्ट्रिय एकताको सन्देश बोकेको यो कार्यक्रमलाई अमेरिकामा रहेका नेपालीहरूको प्रतिष्ठा र पहिचानको उत्सवका रूपमा हेरिएको छ ।आयोजकका अनुसार यस वर्षको परेडमा ४० भन्दा बढी संघ–संस्थाहरूको सहभागिता रहनेछ, जसले नेपालको विविधता, मौलिकता र सांस्कृतिक सुन्दरतालाई विश्वसामु प्रस्तुत गर्नेछन ।
यसै क्रममा Tamang Society of America ले पनि आफ्नो सांस्कृतिक पहिचान झल्किने विशेष तयारी गरिरहेको जनाएको छ। संस्थाकी महासचिव चादनी तामाङका अनुसार तामाङ समुदायको मौलिक पहिरन, डम्फु, सेलो नृत्य तथा सांस्कृतिक झाँकीको अभ्यास तीव्र रूपमा भइरहेको छ । उहाँले भन्नुभयो, “यो केवल परेड मात्र होइन, विश्वलाई हाम्रो संस्कृति, भाषा, पहिचान र नेपाली समुदायको एकता देखाउने ऐतिहासिक अवसर हो” ।
विगतका वर्षहरूमा हजारौं नेपाली तथा विभिन्न समुदायका दर्शकहरूको सहभागिताले परेडलाई अझ भव्य बनाएको थियो । नेपाली झण्डा, सांस्कृतिक बाजागाजा, जातीय भेषभूषा, मौलिक नृत्य र देशभक्तिपूर्ण नाराले New York City को सडक नेपालीमय बनेका दृश्यहरूले धेरैको मन छोएको थियो । यस वर्ष पनि त्यसैगरी अझ व्यवस्थित, भव्य र ऐतिहासिक कार्यक्रम हुने अपेक्षा गरिएको छ ।
विदेशमा रहेर पनि आफ्नो भाषा, संस्कृति, परम्परा र राष्ट्रिय पहिचान जोगाइराख्ने नेपालीहरूको प्रयासले Nepal Day Parade 2026 लाई केवल सांस्कृतिक कार्यक्रम मात्र नभई नेपाली एकता, गौरव र आत्मसम्मानको प्रतीक बनाएको छ ।
कार्यक्रम आयोजकहरूले अमेरिकामा रहेका सम्पूर्ण नेपाली समुदायलाई परिवार, साथीभाइ र नयाँ पुस्तासहित कार्यक्रममा सहभागी भई नेपालको पहिचान विश्वसामु गर्वका साथ प्रस्तुत गर्न आग्रह गरेका छन्। “हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव” भन्ने भावनाका साथ आयोजना हुन गइरहेको यस कार्यक्रमले नेपाली समुदायबीच आपसी सद्भाव, एकता र राष्ट्रिय भावना अझ मजबुत बनाउने विश्वास लिइएको छ ।







