
काठमाडौं,जेठ १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अप्ठ्यारो पर्दै गएको छ । शुक्रबार ओलीको निवास भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकमा बोल्ने उपाध्यक्षहरुले ओलीको कार्यशैलीको विरोध गरेका थिए ।
उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ बाहेकका अन्य चारजना उपाध्यक्षहरुले ओलीको नेतृत्व कमजोर भइसकेकाले अब उनीबाट पार्टी अघि बढ्न नसक्ने धारणा राखेका थिए । उनीहरुले पार्टीमा पनि रुपान्तरण र पुस्तान्तरण आवश्यक भएको भन्दै ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । उपाध्यक्षहरु विष्णुप्रसाद पौडेल, पृथ्वी सुव्वा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले ओलीको कार्यशैलीको टिप्पणी गरेका थिए । उपाध्यक्ष पृथ्वीले त ‘पार्टी तपाइको प्राइभेट कम्पनी हो ? भनेर प्रश्न गरेका थिए । अर्का उपाध्यक्ष पौडेलले पनि ‘अब तपाइबाट पार्टी चल्दैन’ भनेका थिए । ओलीको पक्षमा बोलेका उपाध्यक्ष थापाले भनें यो असहज अवस्थामा अध्यक्षको विरोध गर्नुभन्दा पनि साथ दिएर जानुपर्ने बताए । थापाको कुरालाई लिँदै ओलीले पनि ‘पार्टीको लाइन यही हो’ भनेका थिए ।
गत फाल्गुण २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा एमालेको नतिजा अत्यन्तै कमजोर आए पनि ओलीले भनें यसलाई खासै चासोका साथ हेरेका छैनन् । के कारणले पार्टीको यो अवस्था आयो भनेर समीक्षा गरेर पहिले नै निश्कर्ष निकाल्नुपर्ने भए पनि ओलीले यसलाई गम्भीर रुपमा लिएका छैनन् । ओलीले पनि झापा–५ बाट लज्जास्पद ढंगले हार व्यवहोरेका छन् । १ सय ६५ वटा निर्वाचन क्षेत्रमध्ये एमालेले जम्मा ९ सिटमात्र जितेको छ । एमालेका नेताहरु हिजोको दिनमा ओलीको विरोधमा बोल्न सक्दैनथे । आफ्नो विरोधमा बोल्नेलाई ओलीले भोलिको दिनमा कुनै पनि अवसर नदिने र सधैं बक्रदृष्टिले हेर्ने भएकाले पनि ओलीले जे भने पनि जे गरे पनि नेताहरु चुपचाप लागेर बस्ने गरेका थिए । अब यसरी पार्टी चल्न सक्दैन भन्ने लाग्दालाग्दै पनि चुपचाप बसेका नेताहरु बोल्न थालेपछि ओलीलाई नैतिक दवाव सृजना भएको छ तर उनले यसलाई कुन ढंगले लिन्छन् भन्ने कुरा मुख्य प्रश्न हो ।
गत मंसिरमा भएको महाधिवेशनबाट ओली तेस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका थिए । ओलीले महाधिवेशनअघि आफुलाई अनुकूल हुने विधान बनाएर आफ्नो शक्ति प्रदर्शन गरेका थिए । ओली विरामी छन् तर पनि उनी अझै पार्टीलाई आफ्नो पक्षमा नै पार्न खोजिरहेका छन् । उनी त आफ्नै कारणले पार्टी पुनजिर्वित भएको भन्न पनि पछि पर्दैनन् । पार्टीभित्र विशेष महाधिवेशनको कुरा पनि अघि बढेको छ तर ओलीले यसलाई पनि स्विकारेका छैनन् । यो बेलामा पार्टीलाई राम्रो बनाएर लाने कि यस्तै अवस्थामा दुःखले चलाउने भन्ने निर्णय गर्ने अधिकार ओलीमा नै छ ।







