बाढीपीडितका लागि विराटनगर महानगरपालिकाद्धारा १ करोड १ हजार रुपैंयाँ सहयोग
काठमाडौं, भदौ २७ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि मोरङको विराटनगर महानगरपालिकाले एक करोड एक हजार रुपैयाँ सहयोग गरेको छ ।
महानगरपालिकाले आफ्ना जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीको पारिश्रमिकबाट रकम कटौतीसँगै विपद् व्यवस्थापन कोषबाट रकम व्यवस्थापन गरी बाढीपीडितका लागि सहयोग जुटाएको हो । महानगरका मेयर नागेश कोइरालाले महानगरका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मालाई काठमाडौं पठाएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई एक करोड एक हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । मेयर कोइरालाले प्राकृतिक विपद्का कारण घर, सम्पत्ति र जीवनयापनको आधार गुमाएका नागरिकको पीडा साझा राष्ट्रिय पीडा भएको बताए । सो क्षेत्रमा पीडामा परेका सर्वसाधारणलाई सबै नेपालीले एक भएर सहयोग गर्नु नै अहिलेको मुख्य आवश्यकता रहेको मेयर कोइरालाले बताए ।यसक्रममा महानगरपालिकाले विपद् व्यवस्थापन कोषबाट ११ लाख रुपैयाँ उपलब्ध गराएको छ ।
मेयर कोइरालाका अनुसार राहत रकम जुटाउन आफूले दुई महिनाको सेवा–सुविधा र उपमेयर शिल्पा निराला कार्कीले एक महिनाको सेवा–सुविधा बाढी पीडितलाई उपलब्ध गराएका छन् । त्यसैगरी १९ वटै वडाध्यक्षको सात दिनको सेवा–सुविधा रकम राहत कोषमा जम्मा गरिएकोे छ । त्यस्तै महानगरमा कार्यरत कर्मचारीतर्फ सहसचिव र उपसचिव तहका कर्मचारीको १० दिनको, अधिकृत तहका कर्मचारीको सात दिनको तथा सहायक तहका कर्मचारीको तीन दिनको पारिश्रमिक कटौती गरिएको महानगरपालिकाले जनाएको छ ।

