पीडितको दुःखमा सहारा बन्दै नेपाल युथ फाउन्डेसन, १५० परिवारलाई किचन सेट वितरण
नुवाकोट, २५ भदौ २०८३। रसुवामा आएको विनाशकारी बाढी–पहिरोका कारण प्रभावित भई विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विदुर नगरपालिका–९ का १५० परिवारलाई नेपाल युथ फाउन्डेसन, ललितपुरले अत्यावश्यक भान्साका सामग्रीसहितको पूर्ण किचन सेट वितरण गरेको छ।
बाढी–पहिरोका कारण घर, सम्पत्ति तथा दैनिक जीवनका आवश्यक सामग्री गुमाएका परिवारलाई लक्षित गरी वडा कार्यालयको अनुरोध, समन्वय तथा वास्तविक आवश्यकताको पहिचानपछि राहत सामग्री वितरण गरिएको हो। प्रत्येक परिवारलाई एक प्याकेजका रूपमा २१ प्रकारका अत्यावश्यक भान्साका सामग्री उपलब्ध गराइएको थियो।
राहत प्याकेजमा ग्यास सिलिन्डर, ग्यास चुल्हो, प्रेसर कुकर, राइस कुकर, विभिन्न प्रकारका भाँडाकुँडा, बाल्टिनलगायत खाना पकाउन तथा दैनिक भान्सामा प्रयोग हुने आवश्यक सामग्रीहरू समावेश छन्।
रसुवामा आएको बाढी–पहिरोपछि विस्थापित तथा प्रभावित परिवारहरू विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिएर बस्न बाध्य भएका अवस्थामा उनीहरूलाई तत्काल आवश्यक पर्ने भान्साका सामग्री एकैपटक उपलब्ध गराइएको हो। घरबार तथा दैनिक प्रयोगका सामग्री गुमाएका परिवारका लागि यस्तो सहयोगले सामान्य जीवनयापनतर्फ फर्किन महत्वपूर्ण आधार प्रदान गरेको छ।
विशेषगरी, १५० परिवारलाई प्रतिपरिवार २१ प्रकारका सामग्रीसहितको पूर्ण किचन सेट उपलब्ध गराइएको यो सहयोग ठूलो परिमाणको मानवीय राहतका रूपमा रहेको स्थानीयस्तरमा बताइएको छ। प्रभावित परिवारलाई आवश्यक पर्ने अधिकांश भान्साका सामग्री एउटै प्याकेजमा उपलब्ध भएकाले राहत थप प्रभावकारी र उपयोगी बनेको छ।
राहत सामग्री वितरण कार्यक्रममा नेपाल युथ फाउन्डेसनका संयोजक उमेश रेग्मी, कार्यक्रम अधिकृत रामबाबु राई लगायत संस्थाका सदस्यहरू विभिन्न होल्डिङ सेन्टरमा प्रत्यक्ष उपस्थित भई प्रभावित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेका थिए।
वडा कार्यालयको समन्वय तथा उपस्थितिमा भएको कार्यक्रममा विदुर नगरपालिका–९ का वडाध्यक्ष हरि राम भण्डारी र वडा सदस्य राजकुमार श्रेष्ठ लगायत जनप्रतिनिधिको सहभागिता रहेको थियो।
सो अवसरमा वडाध्यक्ष भण्डारी र वडा सदस्य श्रेष्ठले रसुवा बाढी–पहिरोबाट प्रभावित परिवारको वास्तविक आवश्यकता पहिचान गरी यति ठूलो परिमाणमा अत्यावश्यक सामग्री उपलब्ध गराएकोमा नेपाल युथ फाउन्डेसनप्रति धन्यवाद तथा आभार व्यक्त गरे। उनीहरूले विपद्का कारण कठिन अवस्थामा पुगेका परिवारलाई दैनिक जीवन सहज बनाउन गरिएको यस्तो मानवीय सहयोग अत्यन्त महत्वपूर्ण रहेको बताए।
बाढी–पहिरोबाट विस्थापित परिवारलाई राहत वितरण गर्ने क्रममा नेपाल युथ फाउन्डेसनले तत्कालीन राहतसँगै प्रभावित परिवारको दैनिक जीवन पुनः सामान्य बनाउन आवश्यक आधारभूत सामग्री उपलब्ध गराएको भन्दै स्थानीय तहले संस्थाको सहयोगको प्रशंसा गरेको छ।

