बाढीपहिरोका कारण ३ वटा राजमार्ग अवरुद्ध
काठमाडौं, साउन २ । बाढीपहिरोका कारण ३ वटा राजमार्ग अवरुद्ध भएका छन् । १५ वटा सडक एकतर्फीमात्रै सञ्चालन भइरहेको सडक विभागले जनाएको छ । सडक विभागका अनुसार मेची राजमार्गको केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम गणेशचोक–ताप्लेजुङ–ओलाङचुङ्गगोला सडक खण्ड अवरूद्ध छ । यो राजमार्ग असारको पहिलो हप्तादेखि नै बन्द छ । त्यस्तै तमोर करिडोरअन्तर्गतको चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक र तानसेन–रिडी–कोरला सडक बन्द छ । विभागले अहिलेसम्म ९४ वटा सडक अवरूद्ध भएका र त्यसमध्ये ७६ वटा दुवैतर्फ सञ्चालनमा रहेको पनि जानकारी दिएको छ । काठमाडौंसँग मुख्य नाका जोडिएको नागढुङ्गा–नौबिसे तथा मुग्लिन– नारागणगढ सडकमा केही दिनयता सामान्य रुपमा गाडी चलिरहेका छन् । पहिरोको जोखिम रहेकाले मुग्लिन नारागणगढ सडकको यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न प्रहरीले आग्रह गर्दै आएको छ ।

