
काठमाडौं, २ साउन । काठमाडौंको चन्द्रागिरि नगरपालिका–९ मा रहेको मत्स्यनारायण मन्दिरमा आजदेखि ‘मत्स्यनारायण मेला’ सुरु भएको छ ।
तीन वर्षको अन्तरालमा पर्ने पुरूषोत्तम महिना (मलमास) मा सो मन्दिरमा मत्स्यनारायणको मेला लाग्ने गर्दछ । यो महिनालाई अधिक मास महिना पनि भन्ने गरिन्छ । एक महिनामा दुईवटा औंसी पर्यो भने उक्त महिनालाई पुरूषोत्तम (मलमास, अधिक) मास भन्ने धार्मिक तथा शास्त्रीय मान्यता रहिआएको छ ।
चन्द्रागिरि–९ का वडाध्यक्ष अच्युत अधिकारीले आजदेखि सुरु भएको मत्स्यनारायण मेला एक महिनासम्म चल्ने जानकारी दिए । मलमासको अवधिभर उक्त मेलामा नेपाल तथा भारतबाट समेत भक्तजन दर्शन गर्न आउने उनको भनाई छ ।






