शुक्रबार, २६ भदौ २०८३
ब्रेकिङ न्युज
Breaking

बाढीपहिरोका कारण ९ करोड रुपैंयाँभन्दा बढीको क्षति भए पनि एनसेलको सेवा निरन्तर

admin
admin

काठमाडौं, भदौ २३ । भाद्र १० गते रसुवामा आएको भोटेकोशी बाढीका कारण एनसेलको रसुवाको टिमुरेमा रहेको मोबाइल टावरसहित ६० किलोमिटरभन्दा बढी अप्टिकल फाइबरमा पूर्ण क्षति पुगेको छ ।

प्रारम्भिक आकलनअनुसार बाढीबाट एनसेललाई ९ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको कम्पनीले जनाएको छ । बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट र धादिङका २७ वटा मोबाइल टावर प्रभावित भएका थिए । तीमध्ये २४ वटा साइट पुनः सञ्चालनमा ल्याइसकिएको छ भने बाँकी तीनवटा टावर सञ्चालनमा ल्याउन प्राविधिक टोली फिल्डमा खटिएको एनसेलले जनाएको छ ।

एनसेलले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावित क्षेत्रका ३ लाखभन्दा बढी ग्राहकलाई निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार सोमबारसम्म ग्राहकले प्रयोग गरेको निःशुल्क सेवाको मूल्य १ करोड २० लाख रुपैयाँभन्दा बढी पुगेको छ । साथै ब्यालेन्स टपअप नगरेका कारण सेवा बन्द भएका २५ हजारभन्दा बढी सिमसमेत पुनः सक्रिय गरिएको एनसेलले जनाएको छ । एनसेलले नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा विपद्सम्बन्धी जनचेतनामूलक कल टोन तथा एसएमएससमेत प्रसारण गर्दै आएको छ ।

यस्तो छ विवरण
–भाद्र १० गतेको विनाशकारी भोटेकोशी बाढीले एनसेलको टिमुरे, रसुवामा रहेको एक वटा मोबाइल टावरका साथै ६० किलोमिटरभन्दा बढी अप्टिकल फाइवर लाइनमा पूर्णरुपमा क्षति पु¥याएको छ । प्रारम्भिक आकलन अनुसार यो क्षतिका कारण कम्पनीलाई ९ करोड बढीको आर्थिक हानी भएको छ ।

–एनसेलले उपलब्ध गराउँदै आएको निःशुल्क दूरसञ्चार सेवाको लाभ ३ लाख भन्दाबढी प्रभावित क्षेत्रका ग्राहकहरुले पाउँदै आएका छन् । कम्पनीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावित क्षेत्रका ग्राहकलाई लक्षित गरी निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउँदै आएको छ ।
– कम्पनीका अनुसार ग्राहकहरूले प्रयोग गरेको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको मूल्य सोमबारसम्ममा १ करोड २० लाख रुपैंयाँभन्दा बढी पुगिसकेको थियो । अहिले डाउन रहेका मोबाइल टावरको संख्या घटेसँगै निःशुल्क सेवाको प्रयोग पनि बढ्दै गएको कम्पनीले जनाएको छ ।

– विपद्का कारण आएको बाढी तथा पहिरोले फाइबर लिंकमा क्षति पु¥याउँदा नुवाकोट, रसुवा र धादिङमा एनसेलका २७ वटा टावर प्रभावित भएका थिए । कम्पनीले २७ मध्ये २४ वटा साइट पुनः सञ्चालनमा ल्याइसकेको छ । बाँकी तीनमध्ये रसुवाको घट्टेखोला, टिमुरेको एक वटा पूर्णरुपमा क्षति भएको छ भने नुवाकोटमा रहेको टावर र रसुवामा रहेकोे टावर पुनः संचालनमा ल्याउन प्राविधिकहरु फिल्डमा खटाई आवश्यक काम भईरहेको छ ।

– यसैबीच संकटको समयमा ग्राहकहरू निरन्तर सम्पर्कमा रहन सकून् भन्ने उद्देश्यले एनसेलले २५ हजारभन्दा बढी ग्राहकहरुलाई कुनै कारणले ब्यालेन्स टपअप नगरेका कारण एकतर्फी सेवा रोकिएको वा आउटगोइङ् र इनकमिङ् दुवै सेवा बन्द अवस्थामा रहेका सिमहरूलाई समेत सेवाहरु पुनः सक्रिय गरिदिएको जनाएको छ । कम्पनीको यो सेवाबाट थुप्रै ग्राहकहरुलाई अहिलेको आपतकालीन अवस्थामा सञ्चार सेवा सहज बनेको छ । यी ग्राहकहरूले पनि एनसेलले उपलब्ध गराइरहेको निःशुल्क सेवाको सुविधा पाएका छन् । यसबाट विपद्को यस कठिन समयमा उनीहरू आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन तथा उद्धार र राहतका लागि आवश्यक सहयोग लिन सक्षम भएका छन् ।

– एनसेलले नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा जनचेतनामुलक कल टोन र एसएमएस पनि सम्प्रेषण गर्दै आएको छ । त्यस्ता एसएमएसहरुमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगको लागि रकम पठाउनुअघि खाता, क्यूआर, लिंक आधिकारिक हो वा होइन भन्ने सुनिश्चित गर्न अपिल, सामाजिक संजाल तथा अनलाइन प्लेटफर्महरुमा विभत्स तथा हृदयविदारक प्रकृतिका फोटो, भिडियोलगायतका सामग्रीहरु नराखिदिनुहुन र राखेको भएपनि तुरुन्त हटाईदिनुहुन अनुरोधलगायतका रहेका छन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्