आफैं उपस्थित भएर सामाजिक सुरक्षा भत्ताको प्रमाणपत्र नवीकरण गर्न गौरादह नगरपालिकाको अनुरोध
झापा, साउन २० । झापाको गौरादह नगरपालिकाले सामाजिक सुरक्षा भत्ताको परिचयपत्र नवीकरण गर्न अनुरोध गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले असार ३२ गते एक सूचना जारी गरी सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरुलाई साउन १ गतेदेखि असोज मसान्तसम्ममा सम्बन्धित वडा कार्यालयमा गई परिचयपत्र नवीकरण गर्न अनुरोध गरेका छन् । सूचनामा सो प्रमाणपत्र नवीकरणका लागि चाहिने कागजात पनि स्पष्ट रुपमा लेखिएको छ । नगरपालिकाले आफैं वडामा उपस्थित भएर परिचयपत्र नवीकरण गर्न भनेको छ । नगरपालिकाले राष्ट्रिय परिचयपत्रमा आधारित जैविक पहिचानसहितको प्रमाणीकरण गर्नुपर्ने भएकाले लाभग्राही आफैं उपस्थित हुनुपर्ने भन्दै सूचना प्रकाशन गरेको छ ।
सूचनामा म्यादभित्र परिचयपत्र नवीकरण नगर्ने लाभग्राहीको लगतकट्टा गरिने र भत्ता प्राप्त नहुने पनि जनाइएको छ । यस्तो अवस्थामा अन्य प्रक्रियाबाट फेरि लाभग्राही फारम भर्न सकिने पनि नगरपालिकाले उल्लेख गरेको छ । नगरपालिकाले ९० वर्षभन्दा माथिका लाभग्राहीलाई लाभग्राही सूचीमा सूचीकृत हुन राष्ट्रिय परिचयपत्र अनिवार्य नभएको पनि जनाएको छ ।

