शुक्रबार, २६ भदौ २०८३
ब्रेकिङ न्युज
Breaking

घरमै पुगेर निःशुल्क भेटेरिनरी सेवा दिँदै तुलसीपुर उपमहानगरपालिका

admin
admin

काठमाडौं, साउन २७ । दाङको तुलसीपुर उपमहानगरपालिकाले घरघरमै पुगेर निःशुल्क भेटेरिनरी सेवा दिँदै आएको छ । गत आर्थिक वर्षबाट सुरु भएको यो कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाका पशु सेवा शाखाका प्रमुख डा. मनोज ओलीका अनुसार उपमहानगरपालिकाले पशुलक्षित ४ वटा कार्यक्रम सञ्चालनमा ल्याएको छ । उनका अनुसार यी कार्यक्रमबाट एकातिर व्यावसायिक पशुपालन गर्नेहरु लाभान्वित भएका छन् भनें अर्कातिर पशुहरु बिरामी भएर मर्नेको संख्यामा पनि कमी हुँदै आएको छ । डा. ओलीले कृतिम गर्भाधान सेवा, सुत्केरी पशुलाई पोषण किट वितरण कार्यक्रम, गोठगोठमा निःशुल्क पशुपंक्षी उपचार सेवा र ‘काउ म्याट’ कार्यक्रम सञ्चालन भइरहेको बताए ।

गतवर्षको तथ्यांक हेर्दा कृतिम गर्भाधान सेवाबाट ८ सय २९ पशुधनी लाभान्वित भएका थिए । जसको लागि उपमहानगरपालिकाले ९ लाख रुपैंयाँ छुट्याएको थियो । सुत्केरी पशुलाई पोषण किट कार्यक्रमका लागि उपमहानगरपालिकाले १५ लाख रुपैंयाँ विनियोजन गरेको थियो । यस कार्यक्रम अन्तर्गत सुत्केरी भएका गाई वा भैंसीले ५० किलोग्राम दाना, २ किलोग्राम खनिज मिश्रण, आन्तरिक परजिवी (जुका) विरुद्धको औषधि र ५ सय एम्एल् लिटर लिभर टोनिक पाउँछन् । सुत्केरी हुनेबित्तिकै पशुधनीमार्फत पशुलाई यी सेवा प्रदान गरिन्छ । ‘किसानको गोठगोठमा निःशुल्क पशुपंक्षी उपचार सेवा’ झन् प्रभावकारी बन्दै गएको छ । डा. मनोजका अनुसार उपमहानगरपालिकाको पशु सेवा शाखामा रहेका ९ जना प्राविधिकले घरघरमा पुगेर पशुको उपचार गर्दै आएका छन् । उनले वडा नम्बर ११ र १४ मा पनि पशु सेवा केन्द्र रहेको र त्यहाँ एक एकजना प्राविधिक रहेको बताए ।

‘गाई, भैंसी र बंगुर पशुसेवा केन्द्रसम्म ल्याउन समस्या हुने भएकाले घरघरमै पुगेर सेवा दिएका छौं, बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म पशुधनीको समस्या टिपिन्छ अनि कहाँकहाँ जानुपर्ने हो जान्छौं’ डा. ओलीले भने ‘त्यो समयपछि आएका विवरण र समस्याको पनि समाधान गर्ने गरेका छौं ।’ अन्य पशुपंक्षी सेवा केन्द्रमा ल्याउन सजिलो हुने भएकाले सेवा केन्द्रबाट नै निःशुल्क उपचार हुने गरेको उनको भनाई छ । डा. ओलीले रोग लागेका कारण पशुपंक्षीको अकालमै मृत्यु नहोस् र तत्काल उपचार गर्न सकियोस् भनेर यस्तो सेवा सुरु गरिएको बताए । यस अन्तर्गत गतवर्ष ७ सय ८ पटक सेवा दिइएको छ । यस कार्यक्रमका लागि उपमहानगरपालिकाले ४ लाख रुपैंयाँ बजेट विनियोजन गरेको थियो । ‘काउ म्याट’ कार्यक्रम अन्तर्गत पशुहरु गोठमा नचिप्लिउन् र गोठमा बस्न र सुत्नलाई सहज होस् भनेर ‘काउ म्याट’ अभियान चलाइएको छ । यसका लागि पशुधनीले ५० प्रतिशत लगानी गर्नुपर्ने छ भनें उपमहानगरपालिकाले ५० प्रतिशत व्यवहोर्छ । ‘काउ म्याट’ कार्यक्रम अन्तर्गत १ सय ९ वटा म्याट वितरण गरिएको छ ।

Black pied cow, her udder large and full and with horns in the green pasture and a blue sky.

१९ वटा वडा रहेको तुलसीपुरमा १ सय ३२ वटा व्यावसायिक पशुपंक्षी फार्म रहेका छन् । जसमध्ये कुखुराका ८१ वटा, गाई र भैंसीका २७ वटा, बाख्राका १५ वटा, बंगुरका ६ वटा र माछाका ३ वटा फर्म छन् । नगरपालिकाका प्रमुख टिकाराम खड्काले कार्यक्रम प्रभावकारी बन्दै गएकोले उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा पनि कार्यक्रमलाई निरन्तरता दिएको बताए । ‘पशुमा कुनै रोग लाग्यो भनें उपमहानगरपालिकाले हेरिदिने र निःशुल्क उपचार गरिदिने भएपछि उहाँहरुलाई पशुपालन गर्न समस्या छैन, सकेसम्म यो सेवालाई अझै बढाउँदै र विस्तार गर्दैै लैजाने छौं’ नगर प्रमुख खड्काले भने ‘ अहिले आएर व्यावसायिक रुपमा पशुपालन गर्नेको संख्या पनि बढेको छ, जो पशुपालकले सेवा पाउनुभएको छ, उहाँहरु सन्तुष्ट हुनुहुन्छ र हाम्रो सेवाको प्रशंसा गर्नुभएको छ ।’

नगर प्रमुख खड्काले अघिल्लो वर्षको आफूहरुको सेवा प्रभावकारी भएको पनि दाबी गरे । ‘उपमहानगरवासीलाई हामीले अरु पनि धेरै कार्यक्रम दिएका छौं, जे गर्दा उपमहानगरवासीको जीवन खुशी र सुखी हुन्छ त्यसमा हामी पछि पर्ने छैनौं’ नगर प्रमुख खड्का भन्छन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्