स्थानीय निर्वाचन कहिले ?
काठमाडौं, भदौ ८ । सरकारले स्थानीय निर्वाचन कहिले गराउँछ भन्नेमा सबै अन्यौलमा छन् । सरकारले यो मितिमा निर्वाचन गर्ने भनेर सम्भावित मिति पनि भन्न सकेकोक छैन त्यसैले सबैले आफ्नै ढंगले अनुमान र विश्लेषण गर्दै आएका छन् ।
आगमी वैशाखमा यी निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिँदैछ । २०७९ को वैशाख अन्तिममा स्थानीय तहको दोस्रो निर्वाचन भएको थियो । त्योभन्दा अघि २०७४ सालमा निर्वाचन भएको थियो । पहिले स्थानीय निकाय भनिँदै आएकोमा संविधान बनेपछि स्थानीय तह भन्न थालिएको छ । तीनतहका सरकार भनेर भनेपछि तह नभनेर सरकार नै भन्नुपर्छ भन्ने केही जनप्रतिनिधिले तर्क पनि गर्दै आएका छन् । अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको नेतृत्व गरेको छ, सरकारसँगको सहकार्यमा नै निर्वाचन आयोगले निर्वाचनको प्रक्रिया अघि बढाउने हो । प्रदेशको निर्वाचन २०७९ को मंसिरमा भएको थियो, उनीहरुको कार्यकाल पनि २०८४ को मंसिरमा सकिँदैछ । कतिपयले भनें स्थानीय तहको र प्रदेशको निर्वाचन एकैपटक हुन्छ होला पनि भन्दै आएका छन् । सरकारलाई खर्च कम गर्ने कुरामा यो विधि पनि ठिकै हो तर त्योभन्दा माथि गएर निर्वाचनमा मत कति आउँछ कि आउँदैन भन्न्े पनि हरहिसाब हुन्छ । सरकारले भित्रीरुपमा आफ्नो तयारी गरे पनि कहिले कसरी निर्वाचन हुन्छ भन्ने कुरा बाहिर आएको छैन । सरकारले आफूलाई अनुकूल हुने वातावरणमा नै निर्वाचन गर्नेमा भने धेरै शंका गरिरहनु पर्दैन ।
गत फाल्गुणमा भएको प्रतिनिधिसभाको निर्वाचनमा धेरै मत पाएर सरकार बनाउन सफल भएको रास्वपाले स्थानीय तहको साथै प्रदेशमा पनि आफ्नो बलियो उपस्थिति खोज्ने वातावरण तयार गर्नु पनि स्वभाविक नै हो । सरकारप्रति जनताको मत कमजोर बन्दै गएका बेला अहिले नै निर्वाचन भयो भनें पार्टी कमजोर हुन्छ कि भनेर रास्वपाले सोच्नु पनि गलत होइन । एकातिर एकैपटक निर्वाचन गर्दा दुवैतहमा मानिसले फेरि पनि हिजोको जस्तै मतदान गर्लान् कि भन्न्े लागेको पनि हुनसक्छ अर्कातिर फरकफरक समयमा गर्दा जनमत बढ्छ कि भन्ने सोचाई पनि हुनसक्छ । स्थानीय तहमा अब को उम्मेदवार हुने भन्ने चर्चा चल्न थालेको छ । रास्वपाले भनें उम्मेदवार छान्ने प्रक्रिया अघि बढाएको छ भनें अरु पार्टी अझैसम्म अलमलमा नै रहेका छन् ।

