कांग्रेसले शनिबार चियापान गर्ने
काठमाडौंं, कात्तिक १० । कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले भोलि शनिबार दिउँसो २ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ ।
बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गर्न लागेको पार्टीले जनाएको छ । विक्रम संवत् २०३३ पुस १६ गते कांग्रेस नेता विपी कोइराला राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विक्रम संवत् २०३४ देखि चियापान सुरु गरेको हो । २०३८ सालसम्म बिपीले यसलाई निरन्तरता दिएका थिए । त्यसपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिएका हुन् । कांग्रेसले बडादसैँको अवसर पारेर हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।

