बरालको नेतृत्वमा नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघ गठन
काठमाडौं, चैत्र १७ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का पूर्वअध्यक्ष राजेन्द्र बरालको नेतृत्वमा नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघ गठन भएको छ ।
हिजो काठमाडौंमा औपचारिक कार्यक्रम गरी महासंघ गठन भएको जनाइएको छ । महासंघका पदाधिकारीसहित सदस्यको नाम पनि घोषणा गरिएको छ । शैक्षिक परामर्श व्यवसायीका ८ भन्दा बढी संस्थालाई समेटेर महासंघ बनाइएको अध्यक्ष बरालले बताए । महासंघमा ती विभिन्न संस्थाको प्रतिनिधित्व रहेको छ । अध्यक्ष बरालले अन्य संस्था र व्यक्ति पनि थपिने क्रम रहेको बताए ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासंघमा आबद्ध संस्थाका साथै पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो । सल्लाहकारबाहेक ५५ जनाको केन्द्रीय समिति घोषणा गरिएको छ । महासंघका अध्यक्ष बरालले महासंघ स्थापनाको उद्येश्यसँगै महासंघले आगामी दिनमा गर्ने कामको बारेमा व्याख्या गरेका थिए । महासंघमा वरिष्ठ उपाध्यक्षमा शेषराज भट्टराई, विशिष्ट सदस्यमा प्रकाश पाण्डेलगायत रहेका छन् । भट्टराई नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष र पाण्डे निवर्तमान अध्यक्ष हुन् ।
अध्यक्ष बरालले महासंघले शैक्षिक परामर्श व्यवसायीको साझा मुद्या बोक्ने र सरकार तथा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गर्दै निकासको लागि पहलसमेत गर्ने बताएका छन् ।

