विद्यालयका सवारीसाधनमा कडा नियम लगाउँदै गौरादह नगरपालिका
झापा, साउन २१ । झापाको गौरादह नगरपालिकाले विद्यालयका सवारीसाधन प्रयोगमा कडा नियम लगाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले २०८३ साल असार २५ गते एक सूचना जारी गरी नगरपालिकाभित्रका संस्थागत तथा सामुदायिक विद्यालयले सवारीसाधनमा यो नियम लागू गर्नुपर्ने जनाएका छन् । नगरपालिकाको सूचनामा विद्यालयका सवारीसाधनमा विद्यार्थीको चाप अत्यधिक हुने गरेको, सवारीसाधनको यान्त्रिक अवस्था कमजोर रहेको, सुरक्षाका न्यूनतम मापदण्ड पालना नगरिएको गुनासो प्राप्त भएकाले नगरपालिकाले यस्तो नियम बनाएको जनाइएको छ । नगरपालिकाले सुरक्षित रुपमा आवातजावत गर्ने विदार्थीहरुको अधिकारको संरक्षण गर्न, सम्भावित दुर्घटनाबाट जोगाउन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित सवारी तथा यातायात व्यवस्था ऐनलाई ध्यान दिई सबै विद्यालयलाई यो व्यवस्था लागू गर्न अनुरोध गरेको छ । नगरपालिकाले गत असार १ गते गरेको निर्णय पालना गर्न÷गराउन सबै विद्यालयलाई पत्राचारसमेत गरेको छ ।
नगरपालिकाले सवारी अनुमतिपत्र प्राप्त व्यक्तिलाई मात्र चालक नियुक्त गर्नुपर्ने, विद्यार्थीलाई गाडी चढ्न र ओर्लन मद्यत गर्न अनिवार्य रुपमा एकजना सह–चालक राख्नुपर्ने भनेको छ । त्यस्तै सिट क्षमताभन्दा बढी विद्यार्थी राख्न कडा प्रतिबन्ध गरिएको छ । नगरपालिकाले कोचिएर वा झुण्डिएर यात्रा गरे÷गराएको पाइएमा तत्काल कारबाही गरिने स्पष्ट रुपमा जनाएको छ । सूचनामा विद्यालय क्षेत्र र वस्तीभित्र सवारीसाधनको गति ट्राफिक नियम अनुसार हुनुपर्ने पनि जनाएको छ ।
नगरपालिकाले यो सूचनाको सम्बन्धमा नगर प्रमुख, नगर उपप्रमुखलाई अवगत गराएको छ भनें ट्राफिक प्रहरी कार्यालय गौरादहलाई पनि बोधार्थ दिएको छ । नगरपालिकाको एक निजी विद्यालयका एक विद्याथीर्को केही महिनाअघि विद्यालयको सवारीसाधनबाट ओर्लने क्रममा त्यही गाडीले किचेर निधन भएको थियो ।

