शनिबार, २७ भदौ २०८३
ब्रेकिङ न्युज
Breaking

मुख्यमन्त्री बनाउन खोज्दा किचलो

admin
admin

काठमाडौं, साउन २६ । अहिले प्रदेश सरकारहरु परिवर्तनको क्रममा छन् । गत साउन ९ गते नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मिलेर ५ वटा प्रदेशमा सरकार बनाउने सहमति गरेका छन् । सहमति गरेको १७ दिन बितिसक्दा पनि उनीहरुले अहिलेसम्म एक प्रदेशबाहेक अरु ४ वटा प्रदेशमा मुख्यमन्त्री बनाउन सकेका छैनन् ।

समस्याको जड के हो भन्ने प्रश्न खोज्नुपर्ने बेला भएको छ । उनीहरुले स्वार्थका लागि प्रदेश सरकार बनाउने कुरा गरे पनि उनीहरुले भोलिको हाम्रो लक्ष्य र उद्येश्य के हो र कति समयसम्म सहकार्य गरेर जाने भन्न सकेका छैनन् । त्यो दिन गरिएको सहमतिको तस्विर सामाजिक सञ्जालमा ‘भाइरल’ भएको थियो । त्यहाँ भएका नेताहरु नै सन्तुष्ट देखिँदैनथे किनभने उनीहरुलाई पनि यो सम्बन्ध टिक्छ र लामो समयसम्म सहयात्रा हुन्छ भन्ने विश्वास उनीहरुमा छैन । सहमति अनुसार उनीहरुमध्ये एमालेले ३ वटा र नेकपाले दुइवटा सरकारको नेतृत्व गर्ने भन्ने हो । सबैभन्दा पहिले कर्णाली प्रदेशले मुख्यमन्त्री पाएको छ भनें अन्य प्रदेशहरु अझै पनि अलमलमा छन्, यसको प्रमुख कारण भनेको कसको शक्ति र आडमा को मुख्यमन्त्री बन्ने भन्ने हो । उनीहरु कोही पनि मुख्यमन्त्री भएर प्रदेशको लागि यो काम गर्छौं भन्न सक्ने अवस्थामा छैनन् किनभने उनीहरु मुख्यमन्त्री भएर नाम कमाउन, मुख्यमन्त्री भएको नम्बरको संख्या थप्न र नाम कमाउनमात्रै मुख्यमन्त्री बन्न खोजिरेहका छन् । एमालेले कोशी, वागमति र लुम्बिनीमा मुख्यमन्त्री पाएको छ, नेकपाले कर्णाली र सुदूरपश्चिममा भागबण्डा पाएको छ । पार्टीभित्रको अनेक स्वार्थ र गुटका नेताको स्वार्थका कारण प्रदेशमा मुख्यमन्त्री बन्न नसकेको स्पष्ट छ ।

राजनीति त्याग, तपस्या र इमानदारिताको लागि गरिने पेशा भनें पनि त्यहाँभित्रका मान्छेको कारण राजनीतिको परिभाषा बदलिएको छ । राजनीति भनेको दिने होइन लिनेमात्रै पेशाजस्तो भएको छ । मुख्यमन्त्री र मन्त्री किन हुने र उनीहरुले त्यो पद लिएपछि के गर्ने भन्नेमा कोही प्रष्ट छैनन् । धेरै लामो समयको विवादपछि कोशी प्रदेशमा अहिलेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नै मुख्यमन्त्री बनाउने सहमति भएको एमालेले जनाएको छ तर यसमा एमाले अध्यक्ष केपी शर्मा ओली पिटिक्कै खुशी छैनन् । अन्तिममा केही नलागेपछि ओली कार्कीलाई मान्न बाध्य भए । यति लामो समय बितिसक्दा पनि मुख्यमन्त्री छान्न नसकेका दलले जनता र प्रदेशका मतदातासँग क्षमा माग्नुपर्ने हो । जनताको नाममा राजनीति गर्ने उनीहरुलाई जनताको बुझाई र अवस्था के छ भन्नेतिर चासो नै छैन ।

उनीहरुले मधेश र गण्डकी प्रदेशमा सरकार निर्माणका लागि पछि छलफल गर्ने बताएका छन् । सुरुमै देखिएको लफडा र आन्तरिक संघर्षले गर्दा उनीहरुको प्रभाव कम भएको ती दुई प्रदेशमा उनीहरुको अवस्था के होला भन्ने अन्यौल छ । हिजोको दिनमा पनि एमाले र अहिलेको नेकपा मिल्ने र विभाजन हुने गरेकाले पनि यो नयाँ एकतालाई पनि जनताले पत्याएका छैनन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्