बढी भाडा लिने माइक्रो बसलाई कारबाही
तनहुँ, कात्तिक १० । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चाडपर्वको मौका छोपी बढी भाडा लिने माइक्रो बसलाई कारबाही गरेको छ ।
दमौलीबाट काठमाडौ जाने माइक्रो बसले प्रतिव्यक्ति एक हजार रुपैयाँ भाडा लिएको भेटिएपछि ट्राफिक प्रहरीले माइक्रो बसलाई जरिबाना तिराएर कारबाही गरेको छ । ट्राफिक प्रहरीले यात्रुहरुको भाडा पनि फिर्ता गराएको छ । दमौलीबाट काठमाडौसम्म जाने माइक्रो बसले प्रतिव्यक्ति एक हजार रुपैयाँ भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजीव विष्टको नेतृत्वमा आज बिहान जाँच गरी सबै यात्रुहरुको भाडा फिर्ता गराइएको छ ।
‘दमौलीबाट काठमाडौसम्मको भाडा ६ सय ५० रुपैयाँ रहेकामा चाडपर्वको मौका छोपी केही गाडीले एक हजार रुपैयाँसम्म लिने गरेको गुनासो आएको छ’ विष्टले भन्नुभयो, ‘दशैँको मौका छोपी बढी भाडा लिएको गुनासो आएपछि म आफैँ चेकजाँचका लागि पुगेको थिएँ, काठमाडौ जाँदै गरेको माइक्रो बसलाई आँबुखैरेनीमा रोकेर कारबाही गरेका छौं ।’ चाडपर्वको मौका छोपी बढी भाडा लिएको भए प्रहरीलाई खबर गर्न पनि विष्टले आग्रह गरे ।

