नेकपा एकता भए शंकरले नयाँ पार्टी खोल्ने
काठमाडौं, साउन १७ । अहिले प्रदेश सरकार बनाउने कुरामा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) एकमत भएका छन् । उनीहरु हिजोको दिनमा पनि मिलेकै थिए र अहिले पनि मिलेर जाने भनेको कुरालाई धेरैले पत्याउन पनि छोडेका छन् ।
हिजो किन मिले र त्यसको उपलब्धी के भयो र त्यतिबेला फेरि किन विभाजन भयो र आज फेरि किन मिल्नुप¥यो भन्ने कुराको जवाफ कसैले पनि दिन सकेका छैनन् । अहिले एमाले र नेकपाले प्रदेश सरकार बनाउने कुरामा भागबण्डा गरेका छन् । साउन ९ गते भएको सहमति अनुसार एमालेले कोशी, वागमति र लुम्बिनीमा मुख्यमन्त्री पाएको छ भनें नेकपाले कर्णाली र सुदूपश्चिममा मुख्यमन्त्री पाएको छ । कर्णालीमा नेकपाका मंगल शाही मुख्यमन्त्री भएका छन्, अन्य प्रदेशमा भनें मुख्यमन्त्रीको टुंगो लागेको छैन । पार्टीले भित्री रुपमा सबै मिलसकेको दाबी गर्द आए पनि उनीहरुमा मुख्यमन्त्री को बन्ने भनेर आन्तरिक किचलो छँदैछ । पार्टीभित्र देखिएका उपगुटले पनि ‘मेरै मान्छे मुख्यमन्त्री हुनुपर्छ’ भन्ने अडान लिएपछि विवाद बढेको हो, यहाँ पार्टीको मान्छेभन्दा पनि गुटको मान्छे मुख्यमन्त्री बनाउन सबै लागिपरेका छन् । नेकपाले दुइवटा प्रदेशमा मुख्यमन्त्री पाए पनि नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भनें असन्तुष्ट बनेका छन् । दुइमध्ये एक प्रदेश आफ्नो भागमा मुख्यमन्त्री पर्नुपर्छ भन्ने दाबी उनको हुनसक्छ । केही समयअघि नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र प्रचण्ड नेतृत्वको माओवादीबीच एकता भएर नेकपा बनेको हो । नेपाल पक्षको कोशी, वागमति, सुदूरपश्चिमलगायतका प्रदेशमा प्रदेशसभामा राम्रो र सम्मानजनक उपस्थिति छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री शाही माओवादीपक्षका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओेलीले पार्टी एकतालाई विस्तारै गर्ने बताएका छन् । अहिले प्रदेश सरकारमा मात्रै तालमेल गरेका उनीहरु भोलिको दिनमा पार्टी एकता नै गरेर जाने भन्छन्, उनीहरुले यस्तो कुरा हिजो पनि भनेकै थिए । समाचारस्रोतका अनुसार ओली एकैपटक र छिटो पार्टी एकता गर्ने पक्षमा छैनन् किनभने उनी एमालेभित्रका अरु नेतालाई गलाएर मात्रै एकता गर्ने पक्षमा छन् । नेकपा र एमालेबीच प्रदेश सरकार निर्माणमा देखिएको तालमेलप्रति पार्टीका दोस्रो तहका नेताहरुले खुलेरै असन्तुष्टि जनाएका छन् । उनीहरुले विगतको इतिहास पनि हेर्न नेतृत्वलाई सुझाव दिँदै आएका छन् । यो तालमेललाई लिएर एमालेमा पनि आन्तरिक मतभेद छ । एमाले महासचिव शंकर पोखरेलले यसलाई राम्रो मानेका छैनन् । यदि साँच्चै नै फेरि पनि यी दुई पार्टी एक भए शंकरको महासचिव पद पनि जाने निश्चित छ । गत मंसिरमा भएको एमालेको महाधिवेशनमा उनी महासवि निर्वाचित भएका हुन् । ओलीले पार्टी एक भए एमाले उपाध्यक्ष विष्णु पौडेललाई महासचिव बनाउने सम्भावना छ । अहिले विष्णु र शंकर एउटै कित्तामा भए पनि अन्तिममा भनें विष्णुले शंकरलाई छोड्ने सम्भावना छ । पौडेलले महासचिव नपाए पनि शंकरको महासचिव पद भनें रहने छैन । पार्टी एकतामा ओली नै एकीकृत पार्टीको अध्यक्ष हुँदा महासचिव नेकपाको भागमा पारेर भए पनि ओलीले शंकरलाई पाखा लगाउने निश्चित छ ।
समाचारस्रोतका अनुसार ओलीले शंखरपक्षका मुख्यमन्त्रीहरु हटाउने प्रयास गरिरहेका छन् । शंकरले अहिले विभिन्न पक्षसँग छलफल गरिरहेका छन् । गत आइतबार बागबजारको हार्दिक होटलमा अखिलका पूर्व पदाधिकारी तथा नेताहरुको भेला भएको थियो । भेलाले पनि शंकरलाई बलियो बनाएको छ । भोलि पार्टीमा कुनै निर्णय गर्नुपर्ने अवस्था आए शंकरको पछि लागेर नयाँ पार्टी गठन हुनसक्ने सम्भावना पनि छ । एकीकृत पार्टीको नाम र चुनाव चिन्ह के हुने भन्ने टुंगो छैन तर पार्टी एक नै भएको खण्डमा सोही दिन शंकरले आफ्नो पक्षको भेला गरेर नयाँ अभियान थाल्न सक्ने जनाइएको छ । प्रचण्ड नेकपा एमाले र चुनाव चिन्ह सुर्यमा नै सहमत हुने सम्भावना पनि कम छ त्यसैले पनि शंकरले खासगरी जनताको बहुदलीय जनवाद (जवज) को सिद्धान्तलाई अघि बढाएर पार्टी पुनर्गठन गर्ने जनाइएको छ । शंकर पार्टी अध्यक्ष भए योगेश भट्टराई महासचिव बन्ने सम्भावना छ ।
अहिले ओलीको नेतृत्वको आलोचना हुँदै आएको छ । शंकरले पनि पार्टीलाई रुपान्तरण गरेर जानुपर्ने बताउँदै आएका छन् । ओलीका खासमान्छेबाहेक अरुले ओलीको नेतृत्वमा अब कुनै पनि निर्वाचनमा जान नसकिने बताउँदै आएका छन् तर ओली भनें आफ्नै कारणले पार्टी टिकिरहेको दाबी गर्छन् । अहिले ओलीसँगको कुनै पनि सार्वजनिक कार्यक्रममा शंकर उपस्थित हुने गरेका छैनन् । यो अवस्थामा ओलीले विष्णु पौडेललाई साथ लिएका छन् । एमाले रुपान्तरण भएर जान्छ कि ओलीले पार्टीलाई यसरी नै चलाइरहन्छन् भन्ने कुरा अहिले चर्चाको विषय बनेको छ ।

