आउन खोज्दै देउवादम्पत्ति
काठमाडौं, साउन १९ । सिंगापुरमा रहेका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्किने तयारीमा छन् । उनीसहित उनकी श्रीमती तथा नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवा नेपाल फर्किने सोचमा भए पनि उनीहरुलाई विभिन्न कारणले समस्या परेको छ ।
उनीहरु गत फाल्गुण २१ मा भएको प्रतिनिधिसिभाको निर्वाचनअघि नै शेरबहादुरको उपचारका लागि भन्दै सिंगापुर गएका थिए । उपचार के गरे र अवस्था कस्तो छ भन्ने अन्यौल नै छ । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा उनीहरुमाथि कुटपीट भएपछि उनीहरु विरक्त बन्दै आएका थिए । उनीहरुको बुढानीलकण्ठमा भएको घरमा पनि क्षति भएको थियो । त्यसपछि लगत्तै बसेको केन्द्रीय कार्यसमितिको बैठकमा देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबहाक सभापतिको जिम्मेवारी दिएका थिए । देउवाले सिंगापुरमा हुँदा डडेलधुराबाट उम्मेदवार बनेका कांग्रेसका नेता नैनसिंह महरलाई मतदान नगर्नु भनेर जिल्लावासीलाई देउवाले फोन गरेको भन्ने कुरा त्यतिबेला निकै चर्चित भएको थियो । देउवाले २०४८ सालदेखि २०७९ सालसम्म सातपटक संसदीय निर्वाचन जितेका छन् ।
देउवादम्पत्तिले सरकारलाई पत्र लेख्दै नेपाल आउने सहज वातावरण बनाइदिन आग्रह गर्दै आएका छन् । उनीहरुले इमेल र कुसिरयरमार्फत पत्र पठाउँदै यस्तो आग्रह गरेका हुन् । देउवाले सरकारका गतिविधिप्रति पनि असन्तुटि जनाउँदै आएका छन् । नेपाल आउँदा पक्राउ परिने डरले उनीहरु स्वदेश फर्किन सकिरहेका छैनन् ।

