चेतनारायणपछि लिलाको पालो, यस्तो थियो गुण्डुको सहमति
काठमाडौं । लुम्बिनी प्रदेशमा अहिलेका मुख्यमन्त्री चेतनारायण आचार्यपछि लिला गिरीलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ ।
समाचारस्रोतका अनुसार अबको दुई महिनासम्म आचार्य नै मुख्यमन्त्री रहने छन् भनें त्यसपछि लिला गिरीको पालो आउने छ ।

गिरी यसअघि पनि मुुख्यमन्त्री भइसकेका छन् । गिरीलाई हटाएर एमाले महासचिव शंकर पोखरेलले आचार्यलाई मुख्यमन्त्री बनाएका थिए । पोखरेलसँग सम्बन्ध बिग्रिँदै गएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्रीमात्रै बाँकी राखेर पोखरेलपक्षका मन्त्रीहरु हटाएर आफ्ना मान्छेलाई मन्त्रीमा भर्ती गरेका थिए, उनीहरु अहिले पनि मन्त्री नै छन् । आफ्नो पनि प्रदेश रहेको पोखरेलले यहाँ ठूलो राजनीतिक खेल खेल्दै आएका छन् । कहिले पोखरेलसँग प्रतिस्पर्धा त कहिले सहकार्य गर्दै आएका एमाले उपाध्यक्ष विष्णु पौडेलले पनि यो प्रदेशलाई आफ्नो पक्षमा पार्न खोजेका छन् । गिरी, पौडेलका मान्छे हुन् । ओलीनिवास गुण्डुमा बसेको नेताहरुको बैठकले आचार्यले दुई महिनापछि मुख्यमन्त्री छोड्ने र गिरीलाई मु्ख्यमन्त्री बनाउने सहमति भएको बताइएको छ ।
ओलीको पोखरेलसँग सम्बन्ध बिग्रिएपछि नै आचार्यको मुख्यमन्त्री पद धरापमा परेको भए पनि ओलीलाई चित्त बुझाएपछि उनको पद जोगिएको थियो । यो प्रदेशमा महासचिव पोखरेलको वोलवाला छ भनें पौडेल पनि सँगै प्रतिस्पर्धा गर्दै आएका छन् । पछिल्लो समयमा पोखरेल र पौडेल एक भएका छन् ।

